अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु

film mahotsawकाठमाडौं- ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१३’ आजदेखि सुरु भएको छ। इन्डिजिनियस फिल्म अर्काइभ (आइएफए) ले आयोजना गरेको सो महोत्सव यही वैशाख १५ गतेसम्म प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ। महोत्सवको नारा ‘सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता’ छ।

महोत्सवको वरिष्ठ पत्रकार लालदेउसा राई, मल्ल के सुन्दर, खिलध्वज थापा मगर, विनिता चौधरीलगायतले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो। आयोजक संस्थाबाट उहाँहरूलाई ‘आदिवासीको गौरव’ नामक सम्मान प्रदान गरिएको थियो।

महोत्सवमा नेपालबाट चेपाङ, धिमाल, गुरुङ, मगर, राई , लिम्बू, नेवार, थारु समुदाय र आदिवासी सिनेकर्मीले निर्माण गरेका नेपाली भाषाका विभिन्न २३ वटा चलचित्र एवम् म्युजिक भिडियो प्रदर्शन गरिने छ।

त्यसैगरी अष्ट्रेलिया, जर्मनी, भारत, ब्राजिल, क्यानडा, कोलम्बिया, इक्वेडर, मेक्सिको, न्यूजिल्यान्ड, नर्वे, रसिया, इथियोपिया, स्पेन, ताइवान, अमेरिका र ग्वाटेमालालगायतका देशबाट छनोट गरिएका २७ वटा विदेशी चलचित्र, वृत्तचित्र एवम् म्युजिक भिडियो प्रदर्शन गरिने छ।

महोत्सवमा सहभागी हुने चलचित्रमध्येबाट प्रथम, द्वितीय र तृतीयलाई क्रमशः गोल्डेन ड्रम, सिल्भर ड्रम र ब्रन्ज ड्रम प्रदान गरिनेछ। यस्तै ‘नेपाल पानोरमा’अन्तर्गत मुलुकका विभिन्न स्थानमा रहेका आदिवासी समुदायको विभिन्न समस्या तथा वास्तविकतालाई प्रतिनिधित्व गरेर निर्माण गरिएका चलचित्र तथा आदिवासी चलचित्रकर्मीले बनाएका नेपाली भाषाका सिनेमा समावेश गरी सोमध्येबाट उत्कृष्ट हुनेलाई नगद र अवार्ड प्रदान गरिने व्यवस्था गरिएको छ।

महोत्सवमा विगतमा सहभागी विभिन्न चलचित्रका बारेमा गोष्ठी तथा अन्तर्क्रिया समेत गरी सो समुदायका समस्या साझा मुद्दा बनाएर समाधान खोजिने छ। आदिवासी जनजाति समुदायको संस्कृति झल्कने विभिन्न्ा झाँकी, नृत्य, हस्तकलाका सामग्री समेत प्रदर्शनमा राखिएका छन्।

महोत्सवका निर्देशक सञ्जोग लाफामगरले महोत्सवले विभिन्न मुलुकमा बसोवास गर्ने आदिवासी समुदायको अवस्था, समस्या, चुनौती तथा अवसरलाई सहभागीबीच अन्तर्क्रिया, छलफलको वातावरण जुटाएर अनुभव आदानप्रदान गर्न सहयोग पुर्‍याउने बताए। रासस

Leave a Reply

Your email address will not be published.