झापामा कण्डम हाउस स्थापना

दमक- झापाको दमकमा कण्डम हाउस स्थापना गरिएको छ। न्यू कण्डम हाउसले आफ्नो आठौँ शाखाको रूपमा दमकमा कण्डम हाउसको व्यावसायिक कारोबार थालेको हो। बढ्दो एचआइभी एड्सको सुरक्षाका लागि भरपर्दो साधनलगायत विभिन्न यौनवर्द्धक सामग्रीहरूको कारोबार गर्ने उद्देश्यले सो हाउस सञ्चालनमा ल्याइएको हाउसका सञ्चालक गोविन्द खतिवडाले बताए।
दमक–१३ स्थित पश्चिम बसबिसौनीको एक घरमा स्थापना गरिएको सो हाउसको उद्घाटन कण्डम हाउसका अवधारणाकार व्यवसायी युवराज न्यौपानेले गराएका थिए। उनले बढ्दो एचआइभीको प्रभाव न्यूनीकरण गर्न सुरक्षित यौन सम्पर्कमा यस्ता हाउसले शिक्षामुलक तथा सामग्रीहरूको सुलभ कारोबार गरिआएको बताए।
पूर्वको धरान, इटहरी जस्ता प्रमुख सहरी क्षेत्रपछि सो हाउसले आठौँ शाखाको रूपमा उक्त व्यापारिक सेवाको थालनी गरेको उनले बताए। सो हाउसमा रु एकदेखि रु आठसम्मको प्रतिगोटा दरका कण्डम तथा रु दुई हजारदेखि रु २० हजारसम्मका यौनसन्तुष्टिका खेलौना(सेक्सटोय)हरू रहेको बताइएको छ।
२०६६ सालमा व्यवसायी न्यौपानेले पहिलो पटक यौनजन्य सामग्रीहरूको मात्र कारोबार गर्न सो कण्डम हाउसको अवधारणा ल्याएका थिए। कण्डमलगायतका साधनहरू अन्यत्र पसलहरूमा छ्यापछ्याप्ती बिक्री भइरहेको भएपनि सो हाउसले स्वदेशी तथा विदेशी ब्राण्डका त्यस्ता सामग्रीहरूको कारोबार गरिआएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.