मिस नेपाल श्रेष्ठ युवा संरक्षण राजदूत

Ishaniकाठमाडौं- विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) नेपालले मिस नेपाल २०१३ ईसानी श्रेष्ठलाई युवा संरक्षण राजदूत घोषणा गरेको छ। कोषको नेपालस्थित कार्यालय बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच २०१२ की मिस नेपाल सृष्टी श्रेष्ठलाई बिदाइ गर्दै ईसानीलाई एक वर्षका लागि संरक्षण राजदूत घोषणा गरेको हो। कोषले मिस नेपाल श्रेष्ठको कार्यकालमा यसअघिका मिस नेपालजस्तै संरक्षणका विविध क्षेत्रमा सक्रियपूर्वक काम गरी जनचेतना अभिवृद्धि गर्ने विश्वास लिएको छ। कोषका संरक्षण कार्यक्रम प्रमुख डा घनश्याम गुरुङले संरक्षण कोष २० वर्षमा प्रवेश गर्न लागेको र यससन्दर्भमा मिस नेपाल श्रेष्ठको ठूलो जिम्मेवारी हुने बताए।

मिस नेपाल आयोजक हिडेन ट्रेजरका सुवास क्षेत्रीले जलवायु परिवर्तन, वन्यजन्तु संरक्षणलगायतका क्षेत्रमा आफ्नो संस्थाले कोषसँग सहयोग र सहकार्य गर्दै आएको बताए। मिस नेपाल श्रेष्ठले प्राकृतिक स्रोतको धनी देश नेपालको संरक्षणको क्षेत्रमा सहभागिता हुनु आफ्नो लागि ठूलो अवसर र चुनौती भएको बताइन्।

पूर्व मिस नेपाल श्रेष्ठले वन्यजन्तु संरक्षण र जलवायुको क्षेत्रमा नेपालको दुर्गम क्षेत्रमा प्रत्यक्ष गएर काम गर्न पाउँदा आफ्नो जीवनको अविस्मरणीय र अमूल्य क्षण भएको बताए। कोषले सन् २००४ देखि हरेक वर्ष नयाँ मिस नेपाललाई संरक्षण दूत बनाएर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। रासस

Leave a Reply

Your email address will not be published.