एमाओवादी अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिका लागि हुन लागेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय हित र स्वार्थ अनुकूल छिमेकी मित्र राष्ट्रहरुले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिने गरी आफूले भ्रमणको सुरुवात गरेको जानकारी दिए। 
अध्यक्ष दाहालले भने, ‘विगतमा एउटा मुलुकविरुद्ध अर्को मुलुकलाई प्रयोग गर्ने विरासतलाई अन्त्य गर्दै उनीहरुको आर्थिक विकासलाई नेपालको बृहत्तर हितमा प्रयोग गर्न हामीले पहल गर्नुपर्छ। आजबाट सुरु भएको चीन भ्रमण र केही समय पछि हुने भारत भ्रमण पनि सोही दिशामा नै केन्द्रीत हुन्छ।’
उनले चीन भ्रमणलाई नेपाल सरकार र चीन सरकारले आधिकारिकता प्रदान गरेर जसरी महत्व दिएको छ यसले आफूमा जिम्मेवारी बढेको र नेपालको हितअनुरुप नै काम गर्नुपर्दछ भन्ने दृढ विश्वास पलाएको धारणा राखे।
मुलुकभित्र निकट भविष्यमै हुन लागेको संविधान सभाको नयाँ निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनका लागि सहयोगको आग्रह गरिने अध्यक्ष प्रचण्डले बताए। भ्रमणको क्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका उच्च स्तरीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
चीन भ्रमण लगत्तै भारतको समेत भ्रमण गर्न लागेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकसँग समदुरीको सम्बन्ध राखेर नेपालको सर्वोपरी हितमा नै भ्रमण केन्द्रित हुने उल्लेख गरे। अध्यक्ष प्रचण्डका साथमा पत्नी सीता दाहाल र अन्य सहयोगीहरु सहभागी छन्। रासस

Leave a Reply

Your email address will not be published.