रेग्मी र अमेरिकाका पूर्व राष्ट्रपति कार्टरबीच भेटवार्ता

काठमाडौं- चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरबीच भेटवार्ता भएको छ। रेग्मी निवास बालुवाटारमा भएको सो भेटवार्तामा द्विपक्षीय हित तथा चासोका विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान सभाको नयाँ निर्वाचनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन हुनुलाई  सकारात्मकरुपमा लिँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने विश्वास कार्टरले राखेका थिए।
पूर्व राष्ट्रपति कार्टरले संविधान सभाको निर्वाचन, त्यसको लागि अपनाउनुपर्ने उपाय, मतदाता नामावली सङ्कलनमा देखिएको समस्या, निर्वाचनको विरोधमा रहेका केही राजनीतिक दलहरूलाई कसरी सहमतिमा ल्याउनुहुन्छ भन्नेलगायतका जिज्ञासा राखेका थिए।
पूर्व राष्ट्रपति कार्टरले गठन हुन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा समेत अध्यक्ष रेग्मीसँग जिज्ञासा राखेका उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकारले निर्वाचनका लागि सबै राजनीतिक दललाई आग्रह गरेको र विरोधमा रहेका दलहरूलाई वार्ता र सम्वादमार्फत निर्वाचनको प्रक्रियामा सहभागी गराउन वार्ता टोलीसमेत गठन गरिसकेको र त्यसका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले पनि प्रयास गरिरहेको बताउँदै तोकिएकै समयमा संविधानसभाको निर्वाचन सम्पन्न हुने विश्वास दिलाएका थिए।
अध्यक्ष रेग्मीले निर्वाचन नै राजनीतिक निकासको उपयुक्त विकल्प भएको र सोही प्रयोजनका लागि वर्तमान चुनावी सरकार गठन भएको बताउँदै सरकारले आफ्नो काम सम्पन्न गर्ने र नेपाललाई नयाँ दिशा प्रदान गर्ने बताए।
अमेरिकाका पूर्व राष्ट्रपति कार्टरले आगामी संविधान सभाको निर्वाचनमा पर्यवेक्षण गर्नका लागि माग्नुभएको अनुमतिलाई सकारात्मक रुपमा लिँदै नेपाल सरकारको तर्फबाट कार्टर सेन्टरलाई अनुमति दिइने अध्यक्ष रेग्मीले बताए।
गत संविधान सभाको निर्वाचनमा कार्टर सेन्टरले गरेको सहयोगको उच्च प्रशंसा गर्दै अध्यक्ष रेग्मीले आगामी निर्वाचनमा पनि सहयोग गर्न आग्रह गरेका थिए। मुलुकका केही स्थानमा मतदाता नामावली सङ्कलनमा देखिएको समस्या र अवरोधलाई हल गर्न राजनीतिक र सुरक्षात्मक सबै खालका उपाय अवलम्बन गरिने र जनतालाई भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने अवस्थाको निर्माण गरिने समेत अध्यक्ष रेग्मीले आश्वासन दिएको प्रेस संयोजक पाण्डेले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.