प्रहरी कर्यालय नजिकै बम विष्फोट

सिरहा- सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको स्थानीय विकास अधिकारीको सरकारी निवासमा शुक्रवार राति बम विस्फोट भएको छ। अज्ञात समूहले राति करिब ८ बजे निवासमा पेट्रोल बम विस्फोट गराएको हो। बम विस्फोट गराउँदा लागेको आगाका कारण निवासको माथिल्लो तल्लामा ओछ्याइएको गलैँचा जलेको र झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए। उनका अनुसार नजिकैको नरिवलको बोटमा समेत आगो लागेको थियो।
स्थानीय विकास अधिकारी विजयराज सुवेदी कामविशेषले काठमाडौं गएको र निवासमा कोही नबसेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले राति नै निभाएका छन्। घटनास्थलमा रातिदेखि नै प्रहरीको बाक्लो उपस्थिति छ।
तीन अपरिचित व्यक्तिले निवासतिर केही वस्तु फ्याँकेर भागेको केहीबेरमै विस्फोट भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक शाहीले बताए। उनले भने, ‘घटनास्थलमा पुग्दा आगो दन्दनी सल्किसकेको थियो।’
यसैबीच घटनाको जिम्मा तराई कम्युनिस्ट पार्टीले लिएको छ। स्थाविअ सुवेदीले जिविस सिरहालाई भ्रष्टाचारको केन्द्र बनाई अकुत सम्पत्ति आर्जन गरेका कारण चेतावनीस्वरुप बम विस्फोट गरिएको सो पार्टीका एसटिएफ कमान्डर सुरेन्द्र मधेसीले सञ्चारकर्मीलाई फोन गरेर बताएका छन्। रासस

Leave a Reply

Your email address will not be published.