जगदीश्वर पाण्डे- अहिले केशरी चौधरी व्यस्त छिन् । चैत महिनाको अन्त्यमा हुने एथलेटिक्स राष्ट्रिय च्याम्पियनसिपको तयारीले उनलाई एकछिन फुर्सद छैन । ‘दुई साताअघिमात्र पुलिसको नौ महिने प्रशिक्षण सकेर फर्किएँ, त्यसैले अभ्यास गर्नै पाएको छैन,’ उनले सुनाइन् । बिहीबार बिहान दशरथ रंगशालामा अभ्यास सकेर बबरमहल आइपुगेकी प्रहरीकी सिपाही केशरी कोठा खोज्दै हिँडिरहेकी थिइन् ।
चार वर्षअघि र्फकने हो भने केशरी चौधरी क्रिकेटर थिइन् । क्रिकेटमा उनको नाम थियो, एथलेक्टिसको पालो क्रिकेटपछि मात्र आउँथ्यो । नेपालको महिला टिमले २०६४ सालमा पहिलोपल्ट मलेसियामा भएको एसीसी वुमेन्स ट्रफीमा सहभागिता जनाएको थियो । त्यसमा केशरी टिमकी मुख्य सदस्य थिइन् । अर्को वर्ष थाइल्यान्डमा नेपालले पहिलोपल्ट एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिपको उपाधि नै उचाल्यो । त्यसमा उनको ब्याट र बल दुवैको महत्त्वपूर्ण भूमिका रह्यो ।
घरेलु क्रिकेटमा क्षेत्र नम्बर-५, नेपालगन्जबाट खेलिन् उनले । उनको अलराउन्ड प्रदर्शनमा नेपालगन्जले सुरुवाती दिनमा घरेलु क्रिकेटमा एकछत्र राज गर्यो । केशरी क्रिकेटमा जति दमदार प्रदर्शन गर्थिन्, एथलेटिक्समा पनि उनको प्रभाव कम थिएन । ‘कक्षा ६ देखि नै घरबारी टोलस्थित एन्जल्स स्कुलमै बसेर पढ्न थालें,’ स्थायी घर बर्दियाबाट नेपालगन्ज आई खेलकुदमा होमिएकी केशरीले सुनाइन्, ‘स्कुलमै क्रिकेट, एथलेटिक्स र भलिबल सिकें ।’
उनले कक्षा आठमा पढ्दै गर्दा विसं २०६३ सालमा लङ्जम्पमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । त्यसपछि १४ वर्षे केशरीमाथि सबैको आँखा पर्न थाल्यो । राम्रा खेलाडी भित्र्याउन आतुर विभागीय टिमहरूको नजर उनमा नपर्ने त कुरै भएन । ‘तर मेरो गुरु -चन्द्रबहादुर गुरुङ) ले एसएलसी नसकेसम्म कुनै पनि विभागमा मलाई आवद्ध नगराउने बताएपछि ती प्रस्तावहरू रोकिए,’ आफूले पढ्न पाएको खबर सुनाउँदा उनी निकै खुसी देखिन्थिन् ।
२०६४ सालमा काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा उनी एथलेटिक्समा फेरि चम्किइन् । यस बेला भने उनले लङ्जम्प, हाइजम्प र टि्रपलजम्प तीनै स्पर्धाको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा सारिन् । ‘तीन कीर्तिमानबापत मैले ३० हजार रुपैयाँ, एडिडासको जुत्ता र ट्रयाक-सुट तीन/तीन जोर पाएकी थिएँ,’ त्यस बेला त्यति धेरै रकम पाउँदाको क्षणमा फेरि उनी फर्किइन्, ‘मैले केही खर्च गरे र बाँकी पैसा बैंकमा जम्मा गरें ।’
खेल जीवनको एउटा उचारचढावको वर्ष २०६५ साल रह्यो उनका लागि । मंसिर-पुसमा उनको टिमले थाइल्यान्डबाट यू-१९ को ट्रफी जितेर फकेर्ेेको थियो । सोह्र वर्षको उमेरमै उनको चार्म झनै बढ्न थाल्यो । यसैको मौका छोपेर पुलिस क्लबले उनलाई आवद्ध पनि गर्यो ।
पुलिसमा आवद्ध हुनुअघि उनले एथलेटिक्स र क्रिकेटलाई सँगसँगै लगेकी थिइन् । तर विभागमा छिरेपछि २०६५ सालमा काठमाडौंमा भएको बृहत् पाँचौं राष्ट्रिय खेलकुदबाट उनलाई एउटा विधामा मात्र खेल्ने दबाब आयो । उनी त्यसबेला रंगशालामा पुलिसका लागि एथलेटिक्स र भक्तपुरमा नेपालगन्जका लागि क्रिकेट खेल्न चाहन्थिन् । पुलिसले उनलाई एउटा खेल मात्र रोज्न भन्यो । ‘मैले पुलिसलाई नै रोजे र एथलेटिक्स खेल्न थालें,’ उनले भनिन्, ‘अनि क्रिकेटबाट बिदा लिन बाध्य भएँ ।’
उनको यो निर्णयको पछि जागिरबाट हुने आम्दानी कारण मुख्य थियो । नत्र एथलेटिक्समा तीन राष्ट्रिय कीर्तिमान राखेकी उनलाई त्यस बेला ब्याट र बल थन्क्याउने रहर थिएन । ‘त्यस बेला जर्मनीमा हुन लागेको वल्र्ड एथलेटिक्स च्याम्पियनसिपका लागि पनि छनोट भएको थिएँ,’ उनले आफ्नो खेल जीवनकै सबैभन्दा बिर्सनलायक घटनालाई सम्भिmइन्, ‘पछि जर्मनीका लागि भिसा पनि लागेन । क्रिकेटमा पनि खेल्न पाइएन ।’ उनलाई नेपाल क्रिकेट संघ -क्यान) ले प्रतिभावना खेलाडी भन्दै पाँचौं राष्ट्रियमा नखेले पनि २०६६ असारमा मलेसियामा हुन लागेको एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टीका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो । तर आवद्धताकै कारणले उनलाई फेरि ठेस लाग्न पुग्यो ।
विगत ५ वर्षदेखि दैनिक ट्रयाकमा समय बिताए पनि उनी आफ्ना क्रिकेटका साथीहरू रुविना क्षत्री, नेरी थापा, सीता रानामगर, ममता थापालगायतले क्रिकेटमा पाएको सफलताबारे जानकार छिन् । आफू पनि त्यहाँ सामेल भएको भए उनलाई थप रमाइलो हुन्थ्योजस्तो लाग्छ । ट्र्याकमा उनले पाएका सफलता ती साथीको भन्दा कम भने छैन ।
केशरी अहिले २१ वर्षकी भइन् । पहिले नेपालगन्जमा रहँदा दुई चुल्ठी बाटेको कपाल उनको ‘ब्रान्ड’ नै थियो । उनलाई त्यस्तै गेटअप राम्रो लाग्थ्यो । दुई चुल्ठी अहिले मासिएका छन् । पुलिसकै प्रशिक्षणमा उनले ‘प्राण-प्यारो’ कपाल त्याग्नुपर्यो । ब्वाइज कट कपालमा उनलाई अहिले ऐना हेर्दा पनि अचम्म लाग्छ रे । ‘बदलिएको जस्तो महसुस हुन्छ,’ उनले भनिन् । आफ्नो फोटोहरूमा पनि अर्कै लाग्छ उनलाई । धेरैले त कपाल छोटो हुँदा राम्रो देखिएन भनेर कमेन्ट गर्छन् । त्यसैले उनलाई अहिलेको ‘टम-ब्वाय’ लुक्स मन परेको छैन ।
अहिले काठमाडौंमा एसीसी ट्वान्टी-ट्वान्टी कप भइरहेको छ । तर उनलाई रंगशालाबाट ४ किलोमिटर टाढा कीर्तिपुर मैदानमा भइरहेको नेपालको खेल हेर्न जाने फुर्सद छैन । ‘आफ्नै प्रतियोगिताको तयारीले समय नमिलेको हो,’ उनले कारण खुलाइन् । कुनै समय उनको दिन कीर्तिपुर मैदानमा अभ्यास गर्दै बित्थ्यो । अहिले उनलाई त्यही मैदान टाढा भएको छ ।
उनलाई एकपल्ट ओलम्पिक खेल्ने मन छ । अहिले भने भारतले आयोजना गर्ने भनिएको १२ औं दक्षिण एसियाली खेलकुद -साग) को अन्योलले गर्दा उनी निराश छिन् । एथलेटिक्समा कम अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अवसर मिल्छ । त्यसको तुलनामा क्रिकेटमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरेको उनको विश्लेषण छ ।
एथलेटिक्समा नेपालको सफल खेलाडीको रूपमा चिनिने केशरीमा क्रिकेटको भोक मरेको छैन । ५ फिट ४ इन्च अग्ली उनी भन्छिन्, ‘पुलिसमा टिम बने, क्रिकेटमा फेरि कम-ब्याक गर्नेछु ।’
कान्तिपुर कोसेलीबाट साभार