आदिवासी अधिवेशनको शरगर्मी, थारू, मगर र रानाथारू नेतृत्व लिने दौडमा

मुकेश टेंर्रा, धनगढी- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को तेस्रो अधिवेशन नजिकिएसंगै कैलालीका आदिवासीहरुमा चुनावी शरगर्मी बढेको छ। आदिवासी जनजातिका विभिन्न जातीय संगठनहरुमा चैत १७ गते धनगढीमा हुने तेस्रो जिल्ला अधिवेशनमा भाग लिने विषयमा गृहकार्य तिब्र भएको हो। जातीय संगठनका नेताहरुले अधिवेशनका लागि आ–आफ्ना संगठनमा गृहकार्य तिब्र बनाउँदै प्रतिनिधि चयन र उम्मेद्वार छनौट गरिरहेका छन्।
उनीहरुले नेतृत्व र आगामी एजेण्डाका लागि दिनहुँ छलफलमा जुटेको जनाएका छन्। ‘अबका दिनमा जिल्लाको नेतृत्व कसलाई दिने भन्ने सम्बन्धमा छलफल तिब्र बनाएका छौं,’ थारू कल्याणकारिणी सभा कैलालीका सभापति प्रभातकुमार चौधरीले भने, ‘हामीले थरुहट आन्दोलनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई जिम्मेवारी दिने निष्कर्षमा पुगेका छौं।’
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीमा आवद्ध नौं वटा जातीय संगठन मध्ये थारू, मगर र रानाथारू प्रमुख भूमिकामा छन्। यि तीन संगठनहरु नेतृत्व लिने दौडमा छन्। ‘सहमतिका आधारमा थारू कल्याणकारिणी सभाले पनि महासंघको नेतृत्व लिन सक्छ,’ सभापति चौधरीले भने, ‘तर हामीले अहिले नै व्यक्ति तोकिसकेका छैनौं।’
यसैगरी, नेपाल मगर संघ कैलालीले हरेक जातीय संगठनबाट पालैपालो अध्यक्ष हुने पद्दति अनुसार आफ्नै पालो रहेको निष्कर्षमा पुगेको छ। ‘अब महासंघमा नेतृत्व गर्ने हाम्रै पालो हो, हामीले जसरी पनि अध्यक्ष पद पाउनुपर्छ, भन्ने अडान संघभित्र छ,’ नेपाल मगर संघ कैलालीका अध्यक्ष टेक नामजाली मगरले भने, ‘संघमा चार जनाले अध्यक्ष पदका लागि ईच्छा देखाएका छन्।’
मगर संघमा दलबहादुर घर्तिमगर, मिनबहादुर दर्लामीमगर, तेज तारामीमगर र शक्तिप्रसाद शिरिषमगरले अध्यक्ष पदका लागि ईच्छा देखाएका हुन्। ‘उनीहरु चार जना मध्ये कसलाई अध्यक्षका लागि सिफारिस गर्ने भनि निर्णय गरिएको छैन,’ अध्यक्ष नामजालीले भने, ‘अब एक पटक बैठक बसेर त्यसको टुंगो लगाउँछौं।’
रानाथारू समाजले पनि अध्यक्ष पदमा दावी गर्ने तयारी गरिरहेको नेपाल रानाथारू समाजकी केन्द्रीय अध्यक्ष जीवन रानाले बताइन्। उनले आफूहरुले अहिले नै व्यक्तिमा निर्णय नगरेको बताइन्। उनले १० गतेपछि आफूले सबै टुंगो लगाइसक्ने गरी तयारी गरिरहेको बताइन्।
तर, थारू कल्याणकारिणी सभाले समग्र आदिवासी जनजाति र थारूको मुद्दामा सशक्त आवाज उठाइरहेका भन्दै वर्तमान अध्यक्ष लक्ष्मण तुलचन ‘तरुण’ लाई नै अध्यक्ष बनाउने मनसायमा छ। ‘तुलाचनले थरुहट आन्दोलनमा सशक्त भूमिका निर्वाह गरिहनु भएको
हाम्रो ठहर छ र उहाँले थारू कल्याणकारिणी सभालाई अध्यक्ष पदमा आफूहलाई
समर्थन गर्न आग्रह गर्नुभएको छ,’ सभापति चौधरीले भने।
एउटा जातीय संगठनबाट दुई पटक नेतृत्व गर्ने बैधानिक व्यवस्था अनुसार तुलाचनलाई अध्यक्षमा यथावत राख्ने थारू कल्याणकारिणीले अनौपचारिक निर्णयय गरिसकेको छ। ‘उहाँ नहुने भए थारू कल्याणकारिणी सभाले पनि एक पटक अध्यक्ष हुने मौका बाँकी छ,’ सभापति चौधरीले भने, ‘सहमतिको आधारमा थारू कल्याणकारिणीले पनि नेतृत्व लिन सक्छ। हामीसंग सक्षम व्यक्ति पनि छन्।’
तुलाचनलाई अध्यक्ष बनाउँदा थारू कल्याणकारिणी सभाले सचिव पद लिने दावी गरेको छ। त्यसरी समिति गठन गर्दा मगरबाट उपाध्यक्ष बनाउने र रानाथारूलाई कोषाध्यक्ष बनाउनुपर्ने थारू कल्याणकारिणीका विभिन्न बैठकहरुले खाका बनाएका छन्।
जातीय जनसंख्याको आधारमा आदिवासी महासंघमा अल्पमतमा रहेका संगठनहरुले भने सहमतिका आधारमै नेतृत्व चयन गर्ने पक्षमा छन्। तामाङ, थकाली, राजी, गुरुङ लगायतका सात वटा जातीय संगठनहरु कैलाली जिल्लामा अल्पमतमा रहेका आदिवासी जनजाति हुन्। यद्दपि उनीहरुले समेत दुई कार्यकालसम्म नेतृत्व गर्न पाउने महासंघको विधानले व्यवस्था गरेको छ।
यस पटकको अधिवेशनमा सबै भन्दा धेरै थारूबाट १५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। ति मध्ये थारुकल्याणकारिणी सभाले १० र नेपाल रानाथारू समाजले पाँच जना प्रतिनिधि चयन गरेका छन्।
थारू कल्याणकारिणी सभाले बुधबार प्रभातकुमार चौधरी, माधव चौधरी, दुर्गा कुश्मी, मणिप्रसाद चौधरी, राजमति चौधरी, खुशीराम चौधरी, बाँधुराम चौधरी, बिड्डु राना, सन्तोष कठरिया र सुरज कठरियालाई प्रतिनिधि सिफारिस गरेको छ। रानाथारु समाजले जीवन राना, भंगी राना र शिवराज रानालाई प्रतिनिधि छानेको छ। बाँकी दुई निर्णय गर्न बाँकी रहेको अध्यक्ष जीवन रानाले बताइन्।
आठ जना प्रतिनिधि छनौट गर्न पाउने मगरसंगे पाँच जनालाई सिफारिस गरिसकेको छ। पछि थपिएका प्रतिनिधि छान्न बाँकी रहेको अध्यक्ष नामजालीले बताए। अन्य जातिले भने दुई/दुई जना मात्रै प्रतिनिधि पठाउन पाउने भएका छन्।

सम्मानको तयारी
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीले तेस्रो जिल्ला अधिवेशनमा बृहत सम्मानको तयारी गरेको छ।
महासंघले आदिवासी जनजाति पत्रकार, कलाकार, खेलाडी र उच्च शिक्षामा सर्वाधिक अंक सहित उत्तीर्ण हुने आठ जना विद्यार्थीलाई सम्मान गर्ने तयारी गरेको हो। आदिवासी समुदायको मुद्दामा कलम चलाएर सञ्चार वकालतका सहयोग पुर्‍याएकोमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) का केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका टीकापुर सम्वाददाता गणेश चौधरीलाई सम्मान गर्ने महासंघका अध्यक्ष लक्ष्मण तुलाचनले जनाए।
साथै, कलाकार तथा रेडियोकर्मी रेशम चौधरी र थारूका पौराणिक खेलकुदलाई संरक्षण र प्रबर्द्धन गर्न महत्वूर्ण भुमीका खेल्न बसन्त केसीलाई सम्मान गर्ने तयारी गरेको छ।
त्यस्तै जिल्लामा सर्वाधिक अंक ल्याई एसएलसी, प्लस टु, स्नातक र स्नाकोत्तरमा उत्तीर्ण भएका आठ जना विद्यार्थीलाई सम्मान गरिने महासंघका अध्यक्ष तुलाचनले बताए।
उनले हरेक तहमा एक जना छात्रा र एक जना छात्रलाई कदरपत्र सहित सम्मान गरिने बताए। सो सम्मानका लागि जिल्ला धेरै अंक ल्याई सो तहहरु उत्तीर्ण विद्यार्थीहरुलाई महासंघमा सम्पर्क गर्न महासंघले सूचना जारी गरेको छ।

साभारः ट्रासन राष्ट्रिय दैनिक

Leave a Reply

Your email address will not be published.