बन्दैछ चुनावी माहौल

सप्तरी- प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन भएसँगै सप्तरीमा दलका नेताहरु अर्को संविधान सभाको निर्वाचनको माहौल बनाउन जुटेका छन्। नयाँ चुनावी सरकारको गठनसँगै अर्को संविधानसभाको निर्वाचन हुने निश्चित भइसकेको भन्दै विभिन्न दलका नेताहरु जनमत आफ्नो पक्षमा पार्न जुटेका हुन्। चुनावी मन्त्रिपरिषद् गठन भएसँगै सप्तरीमा ठूला तथा साना दलका सम्भावित उम्मेदवारहरु जनताको घरदैलो पुग्न थालेका छन्।
निर्वाचनको मिति घोषणा भई नसकेपनि निर्वाचन आउँदो असार वा मङ्सिरमा हुने अन्योलका बीच दलका नेताहरु चुनावी तयारीमा जुटेका छन्। नेताहरु अहिले गाउँ गाउँमा पुगेर मतदातासँग मत माग्दै हिँडेका छन् भने उनीहरुले निर्वाचनलाई लक्ष्यित गरी छलफल, अन्तर्क्रिया, सभालगायतका गतिविधि बढाउँदै लगेका छन्।
प्रधानन्यायाधीश रेग्मीकोे नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गर्नु गलत भएको भन्दै केही साना दलले विरोधका कार्यक्रम गर्दै आइरहेपनि ठूला दलहरुले चुनावी माहौल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिन थालेका छन्। राजनीतिक दलबीच चुनावी सरकारको विषयमा देखिएको विवादका कारण निर्वाचन हुने वा नहुने अन्योल कायमै रहेको बेला विभिन्न दलका नेताहरुले गाउँ गाउँमा पुगेर मतदातासँग मत माग्न थालेकाले ढिलै भए पनि निर्वाचन हुने धेरैले विश्वास गरेका छन्।
चुनावी सरकार र निर्वाचनको विषयमा ठूला दल र केही साना दलहरुबीच बढेको दूरी अन्त्य भएर मुलुक चुनावमा होमिने यहाँका सर्वसाधारणले विश्वास व्यक्त गरेका छन्। अहिले दलका नेताहरुले संविधानसभाको निर्वाचनमा उम्मेदवार बन्न पार्टीभित्र टिकटका लागि दौडधुप सुरु गरिसकेका छन्। उनीहरुले आफ्ना शुभचिन्तक र शुभेच्छुकसँग चुनावी मुद्दामा नियमित छलफल र बैठक गर्न थालिसकेका छन्।
सप्तरीवासीको सबैभन्दा महत्वपूर्ण र आकर्षक निर्वाचन क्षेत्र मानिएको सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारहरु खुलेर बाहिर आउन थालेका छन्। आउँदो निर्वाचनमा केही पुराना अनुहार बाहेक नयाँ अनुहार पनि उम्मेदवार बन्न अग्रसर भएको देखिएको छ।
आगामी असारमा हुने भनिएको निर्वाचनका लागि ठूला दलसँगै साना दलका उम्मेदवारसमेत बाहिर आएका छन्।
यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा समेत एमाओवादीबाट क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नुभएका उमेश यादवले अब हुने निर्वाचनमा समेत उम्मेदवार बन्ने मनस्थिति बनाउनु भएको छ। अघिल्लो संविधानसभामा थोरै मतले पराजित यादव अबको निर्वाचनमा भने आफूलाई जनताले साथ दिने विश्वास व्यक्त गर्नुहुन्छ। एमाओवादी सप्तरीका संयोजकसमेत रहनुभएका यादव भन्छन्– “अबको निर्वाचनमा पनि पार्टीले आफूलाई उम्मेदवार बनाउँछ र जनताले मत दिएर विजयी बनाउँछन्।”
यसअघिको संविधान सभा निर्वाचनमा उहाँसँगै कांग्रेसबाट क्षेत्र नम्बर ३ मा उम्मेदबार बन्नुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरी अबको निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– “पहिले संविधानसभामा जितेर गएका सभासद्हरुले केही गर्न नसकेकाले जनताले मलाई जिताउनेछन्।”
यता क्षेत्र नम्बर ३ मा काँग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न लागेको बताउँदै नेपाल कर्मचारी युनियन सप्तरीका जिल्ला अध्यक्ष सत्यनारायण शर्मा भन्नुहुन्छ– “जिल्लावासीलाई धेरै सेवा गरेको र सोही सेवाको आधारमा जनताको विश्वास आर्जन गर्न सफल भएकाले मेरो जित सुनिश्चित छ।”
ठूला दलका उम्मेदवारहरुले आ–आफ्ना तयारी गरिरहेका बेला मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले पनि पार्टीले उम्मेदवार बनाए आफू चुनावी मैदानमा ओर्लिन तयार रहेको बताउनुहुन्छ।
यस्तै अब हुने निर्वाचनमा राजविराजस्थित यूनिक एजुकेशनल एकेडेमीका अध्यक्ष जयप्रकाश ठाकुरले पनि चुनावी मैदानमा आउने सोच बनाउनुभएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने सोच बनाउनु भएका अध्यक्ष ठाकुरले गाउँ गाउँका जनतालाई शिक्षा र स्वास्थ्य सेवा पुर्‍याइदिएकाले आफूलाई जनताको समर्थन रहने दाबी गर्नुहुन्छ।
सद्‍भावना पार्टीका युवा नेता किशोरकुमार यादव पनि क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ। उहाँले आफू युवा मात्र होइन परिवर्तन चाहने पनि भएकाले जनताले आफूलाई विश्वास गर्ने बताउनुहुन्छ।
उहाँहरुसँगै पूर्वमन्त्री अनिस अन्सारी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका सचिव भोगेन्द्र चौधरी र विश्व हिन्दु महासङ्घका महामाया प्रसादसिंह पनि क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्ने व्यापक चर्चा छ।
अघिल्लो संविधानसभाको निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रबाट ६ जना प्रत्यक्ष निर्वाचित भएका थिए भने समानुपातिकबाट १० गरी १६ जना सभासद् रहेका थिए। जनताको दलहरुप्रतिको आक्रोशलाई चिर्न र छिटो भन्दा छिटो सङ्क्रमणकालका व्यवस्थापन गर्दै संविधान निर्माण गर्न तत्काल संविधानसभाको अर्को निर्वाचन गर्नु जरुरी छ। जनताको चाहना निर्वाचनमार्फत स्थापित हुने सविधानसभाबाट नयाँ संविधान निर्माण गर्नु रहेकाले सबै राजनीतिक दलहरु विरोध र मतमतान्तरलाई त्यागेर निर्वाचनमा होमिनु आवश्यक छ। रासस

Leave a Reply

Your email address will not be published.