क्रिकेटमा नेपालका रोमाञ्चक खेलहरू

Cricketविनोद पाण्डे- एसीसी ट्वान्टी–२० कप आउन १० दिन मात्र बाँकी छ। नेपालको विश्वकप खेल्ने लक्ष्य एसीसीले पूरा गर्न सक्छ। अर्को वर्ष बंगलादेशमा हुने आइसीसी विश्व ट्वान्टी–२० का लागि एसीसी ट्वान्टी–२० पहिलो खुडकिलो हो। विश्व ट्वान्टी–२० छनोट यसै वर्ष युएईमा हुनेछ। सन् २००७ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको प्रतियोगितामा नेपालका केही खेल स्मरणीय बनेका छन्, चाहे त्यो विजय प्राप्त गर्दा होस् या पराजित हुँदा।
विरुद्ध कतार, सन् २००७, कुवेत
ट्वान्टी–२० मै नेपालको दोस्रो अन्तर्राष्ट्रिय खेल थियो। पहिलो खेलमा मलेसियालाई २१ रनले पराजित गरेकाले नेपालले कतारलाई पराजित गरेको खण्डमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने थियो। नेपालले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाई १ सय २८ रन बनायो। केईसी मैदानमा कतारलाई अन्तिम तीन ओभरमा ४५ रन चाहिएको अवस्थामा नेपाल लगातार तेस्रो विजयको नजिक पुगेको थियो। तर, स्पिनर राहुल विकको १८औँ ओभरमा २३ र पारस खड्काको १९औँ ओभरमा २२ रन बनाउदै कतारले अप्रत्याशित ढंगमा ३ विकेटको विजय हात पार्‍यो।
विरुद्ध ओमान, सन् २००७, कुवेत
अफगानिस्तानसँग ६ विकेटको पराजयपछि नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिसकेको थियो। ओमानसँगको विजयले नेपाललाई घर फर्कनुअगाडी थोरै भए पनि राहत प्रदान गर्थ्याे। महबुब आलमको ४१ रनमा नेपालले ८ विकेट गुमाई १ सय ४० रन बनायो। पहिलो तीन खेल जितेर सेमिफाइनल स्थान सुरक्षित गरिसकेको ओमानलाई अन्तिम ओभरमा विजयका निम्ति ८ रनको आवश्यकता थियो। पारस खड्काको पहिलो बलमा ओमानी ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन्, त्यसपछिको बलमा बोल्ड गरे। पारसको अर्को बलमा ओमानी ब्याट्सम्यानले चौका प्रहार गरे। पारसको तेस्रो बलमा पनि उनले २ रन जोडेपछि ओमान विजय निश्चित देखिएको थियो। खेलमा पहिलो ओभर बलिङ गरिरहेका पारसको अन्तिम २ बलमा ओमानले विजयका लागि २ रन बनाए पुग्थ्यो। तर, पारसले पछिल्लो दुवै बलमा विकेट लिएर नेपाललाई नाटकीय विजय दिलाए।
विरुद्ध कुवेत, सन् २००९, युएई
नेपाल पहिलो खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो, जुन परम्परागत प्रतिद्वन्द्वी मलेसियासँग नेपालको पहिलो पराजय थियो। दीपेन्द्र चौधरीले ४ विकेट लिएपछि अबुधावीको शेख जायेद रंगशालामा कुवेत १९.१ ओभरमा १ सय २३ रनमा समेटियो। नेपाललाई विजयको निम्ति अन्तिम ओभरमा १३ र अन्तिम बलमा ६ रन चाहिएको थियो। अन्तिम बलमा छक्का हान्न नसकेको भए अन्तर्राष्ट्रिय क्रिकेटमा कुवेतसँग नेपालले पहिलो हार बेहोर्ने थियो। स्ट्राइकमा थिए, विनोद भण्डारी। यो उनको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल थियो। विनोदले अन्तिम बलमा छक्का हानेपछि नेपालले खेल टाई गर्दै बलआउटमा ३–२ ले जित्यो। धेरैले विनोदको छक्कालाई पाकिस्तानका जावेद मियादादले भारतविरुद्ध अन्तिम बलमा बनाएको विजयी छक्कासँग स्मरण गरे।
विरुद्ध हङकङ २०११, काठमाडौं
प्रतियोगिताको पहिलो खेल भए पनि हङकङसँगको हारले नेपाल प्रतियोगिताबाटै बाहिर रहन सक्थ्यो। पहिला ब्याटिङ गरेको हङकङलाई ११४–९ मा रोक्यो नेपालले। लक्ष्य सजिलो थिएन। अन्तिम २ ओभरमा २६ रन बनाउनुपर्ने कठिन स्थिति आइपर्‍यो। नेपालको आशा कप्तान पारस खड्कामा थियो। उनी ४४ रन बनाएर खेलिरहेका थिए। पारस १९औँ ओभरको पहिलो बलमै आउट भए। इरफान अहमदले सोही ओभरको अन्तिम बलमा प्रदीप ऐरीलाई पनि आउट गरे। पारस र प्रदीप आउट भएको बलको बीचको ४ बल सदुपयोग गर्दै नेपालले विजय आधार तयार पार्‍यो, जहाँ निर्णायक समयमा खेलका नायक बनेका बसन्त रेग्मीले इरफान अहमदलाई कभरमा छक्का प्रहार गरे। त्यसअघिको बलमा उनले चौका प्रहार गरे, जुन नो–बल थियो। प्रदीपले पाँचौँ बललाई पनि चौका प्रहार गरेपछि नेपालले दोस्रो अन्तिम ओभरमा १८ रन जोड्यो।
अन्तिम ओभरमा नेपालले ८ रन बनाउनुपर्थ्यो। राहुल बिक र वसन्तले पहिलो दुई बलमा १–१ रन लिए। तेस्रो बललाई बसन्तले कभरबाट बाउन्ड्री लाइन बाहिर पठाए। चौथो बलमा बसन्तले लेग बाईमा १ रन जोडेपछि स्कोर बराबर भयो। स्ट्राइकमा आएका राहुलले पाँचौँ बलमा कुनै रन लिन सकेनन्। छैटौँ बलमा राहुलले प्रहार गरेको बल लेग स्लिपमा गयो। जसमा नन स्ट्राइकमा रहेका वसन्तले दौडेर १ रन पूरा गरेपछि नेपालले अन्तिम बलमा लक्ष्य पूरा गर्दै २ विकेटको विजय पायो।
विरुद्ध कुवेत, सन् २०११, काठमाडौँ
हङकङलाई जिते पनि युएईसँगको सजिलो हारले नेपाललाई बाँकी दुई खेलमा जित्नै पर्ने बाध्यता थपिदिएको थियो। सुवास खकुरेलको ४० रनमा पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो। पहिलो १० ओभरमा ६८ रन जोडेर कुवेतले राम्रो सुरुआत गर्‍यो। अन्तिम ओभरमा टोलीले विजयका निम्ति १८ रन बनाउनुपर्ने भयो। अन्तिम ओभरको जिम्मा पृथु बाँस्कोटाले पाए। यो उनको खेलमा केवल दोस्रो ओभर थियो। पृथुको पहिलो बलमै साउद कमारले छक्का प्रहार गरे। अर्को बलमा पृथुले वाइड फाले। त्यसपछिको बल पनि वाइड भयो तर पृथुले कमारलाई स्टम्पआउट गरे। विकेटपछिको अर्को बल पृथुले पुनः वाइड फाले। त्यसपछिको बलमा पृथुले जाहिर अलीलाई एलबीडब्लू आउट गरे। तेस्रो बलमा एक रन लिएका कुवेती कप्तान अजमातुल्लाह नाजिरले मिडविकेटमा विशाल छक्का प्रहार गरे। अन्तिम दुई बलमा दुई रन बनाए कुवेतले खेल जित्ने थियो। एक रनले स्कोर बराबर हुन्थ्यो। पृथुले लेग साइडमा गएको बलमा नाजिरलाई विकेटकिपर सुवास खकुरेलबाट स्टम्प गराई नेपाललाई प्रतियोगितामा अर्को नाटकीय विजय दिलाए।
विरुद्ध साउदी अरेबिया, सन् २०११, काठमाडौँ
महबुब आलमले ८८ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई एसीसी ट्वान्टी–२० कपमा साउदी अरेबियामाथि ९५ रनको विजय दिलाई सेमिफाइनलको आधार तयार पारे। टस हारेर ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाई १ सय ८३ रन बनायो। राम्रो रनरेटका लागि १ सय रन अन्तरको विजय हात पार्ने लक्ष्य बनाएको नेपालले साउदीलाई १९.१ ओभरमा ८८ रनमै सीमित गर्‍यो। नेपालले आवश्यकता अनुरूप विशाल विजय हात पारे पनि यो खेल महबुब विशेष थियो।
महबुबको ८८ रन नेपाली खेलाडीको अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा पहिलो अर्द्धशतक थियो। महबुबको इनिङमा ६ छक्का समावेश थियो। नेपाली खेलाडीले यसअघि एकै खेलमा ३ छक्का प्रहार गर्न सकेका थिएनन्। महबुब र अनिल मण्डलले दोस्रो विकेटमा जोडेको ९८ रनको साझेदारी ट्वान्टी–२० मा नेपालको ठूलो साझेदारी हो। साउदी अरेबियाविरुद्ध बनाएको १ सय ८३ रन ट्वान्टी–२० मा नेपालको सबैभन्दा ठूलो स्कोर हो।

Leave a Reply

Your email address will not be published.