खिलराज रेग्मी चुनाबी मन्त्रिपरिषद्‍को अध्यक्षमा नियुक्त

khilraj regmiकाठमाडौं- राष्ट्रपति डा रामवरण यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको पद तथा गोपनीयताको शपथ गराए। राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहबीच मन्त्रिपरिषद्का नवनियुक्त अध्यक्ष रेग्मीलाई राष्ट्रपतिले शपथ गराएका हुन्। सो समारोहमा राष्ट्रपति डा यादवको उपस्थितिमा मन्त्रिपरिषद्का अध्यक्षले नवनियुक्त मन्त्रीद्वय माधवप्रसाद घिमिरे र हरिप्रसाद न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराए। मन्त्री घिमिरेलाई गृह तथा परराष्ट्र र मन्त्री न्यौपानेलाई कानुन, न्याय, सङ्घीय मामिला र श्रम तथा रोजगार मन्त्रालय तोकिएको छ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, सरकारका उच्चपदस्थ कर्मचारी एवम् सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।
आजै पद बहाली
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन्। राष्ट्रपति डा रामवरण यादवले रेग्मीलाई आज मन्त्रिपरिषद्को अध्यक्षको शपथ गराउनुभएलगत्तै मन्त्रिपरिषद् कार्यालय पुगेर उनले पद बहाली गरेका हुन्। यसअघिका नवनियुक्त प्रधानमन्त्रीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्ने चलन भए पनि यो पटक भने राजनीतिक दलहरूले चुनावी मन्त्रिपरिषद् गठन गर्ने सहमति गरेपछि सोही आधारमा अध्यक्षका रूपमा रेग्मीले पदभार ग्रहण गरे।
पद बहालीपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष रेग्मीले देशमा शान्ति सुव्यवस्था कायम गर्दै सम्पूर्ण राजनीतिक दलहरूको सहयोगबाट निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने आफ्नो मूल उद्देश्य रहेको बताए।
उनले भने, ‘मलाई राजनीतिक दलहरूले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि एक प्रकारको चुनावी सरकार गठन गर्ने सहमति गरेका हुन्, सम्पूर्ण दलले आफूलाई विश्वास गरेकोले म उहाँहरूलाई आभार व्यक्त गर्दछु।’
यसअघि अध्यक्ष रेग्मी लैनचौरस्थित सहिद स्मृति उद्यान जानुभई सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
को हुन् रेग्मी?
अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त हुनुभएका खिलराज रेग्मीले २०६८ वैशाख २३ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका छन्। विसं २००६ जेठ १८ मा पाल्पा जिल्लाको पोखराथोक–६ मा जन्मनुभएका उहाँले विसं २०६० देखि सर्वोच्च अदालतको न्यायाधीश भइ सेवा गर्दै आएका थिए।
सर्वोच्च अदालतमा कानुन अधिकृतका रूपमा २०२८ सालमा प्रवेश गरेका रेग्मी २०३० देखि २०५९ सालसम्म विभिन्न जिल्ला अदालतको न्यायाधीश, सर्वोच्च अदालतको उपरजिस्ट्रार, विभिन्न पुनरावेदन अदालतको न्यायाधीश तथा मुख्य न्यायाधीश भएका थिए।
कानुनमा स्नातक र कलाशास्त्रमा स्नातकोत्तर गरेका उनले दुई वर्षअघि इन्टरनेसनल जुरिस्ट एवार्ड प्राप्त गर्नुभएको थियो भने त्यसअघि उनले गोरखा दक्षिणबाहु तेस्रो तथा चौथो र त्रिशक्ति पट्ट तेस्रोसमेत प्राप्त गरेका थिए।
सर्वोच्च अदालतको न्यायाधीश पदमा बहाल रहेकै बखत अध्यक्ष रेग्मी न्यायसँग सम्बन्धित विभिन्न १२ वटा समितिको संयोजक भई काम गर्नाका साथै न्यायधीश समाजको अध्यक्षसमेत भएका थिए।
भारत, ब्राजिल, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, इन्डोनेसिया, जापान, इटालीमा आयोजित कानुनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएका उहाँले संयुक्त राज्य अमेरिका,  फिनल्यान्ड, क्यानडा, थाइल्यान्ड र भुटानका न्याय क्षेत्रको गतिविधिको अवलोकन तथा अध्ययन भ्रमण गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.