समस्या समाधानको एकमात्र विकल्प चुनाव : गृहमन्त्री

वीरगन्ज- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकमा देखिएको संवैधानिक तथा राजनीतिक समस्या समाधानको एकमात्र विकल्प संविधान सभाको नयाँ चुनावमात्रै भएको बताएका छन्। मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साद्वारा आयोजित जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनावका लागि दलहरुबीच राजनीतिक सहमति अपरिहार्य हुन्छ।”
संविधान सभाको चुनावबाट मात्र विद्यमान राजनीतिक गतिरोध समाप्त हुने बताउँदै उनले मुलुकमा जननिर्वाचित प्रतिनिधिमूलक संस्था नभएपछि लोकतन्त्रलाई सही बाटोमा ल्याउन दलहरुबीचको सहमतिमै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न लागिएको स्पष्ट पारे।
उनले चुनावी सरकार गठनका लागि चार विवादित विषयमा दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिँदै भने, “सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, लडाकुको दर्जा निर्धारण, नागरिकता र मतदाता नामावलीमा सहमति भएपछि चुनावी सरकार बन्छ र मुलुक निर्वाचनमा जान्छ।”
दलहरु सहमतिको अन्तिम प्रयासमा लागेको र केही दिनभित्रै सहमति हुने उनले बताए। उनले भने, “जन्मका आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने आफ्नो पार्टीको अडान हो र यसलाई पूरा गराएरै छाड्ने छौं।”
रासस

Leave a Reply

Your email address will not be published.