एएफसी च्यालेन्ज कपको कठिन यात्रा

AFC_Challenge_Cup.svgप्रकाश तिमल्सिना- शनिवारबाट दशरथ रंगशालामा एएफसी च्यालेन्ज कपको छनोट चरण सुरु हुँदैछ। स्वाभाविक छ, घरेलु समर्थकको ध्यान नेपाली टोलीको प्रदर्शन, नतिजा र अघिल्लो चरणको जोड घटाउमा हुनेछ। दुई वर्षअघि घरेलु मैदानमै गरेको प्रदर्शन यो पटक हेर्न पाइन्छ वा त्योभन्दा पनि राम्रो हुन्छ वा निराश हुनुपर्छ यी सबै कुराको छिनोफानो आउने एकसातामा भइसक्नेछ। एक सातापछि पुनः राष्ट्रिय टोलीको चर्चा त्यति प्रदर्शनको सेरोफेरोमा रहेर हुने पक्का छ।
बेलायती प्रशिक्षक ग्राहम रोबटर्सको प्रशिक्षणमा नेपालले दुई वर्षअघि उत्तर कोरियाली सम्मिलित समूहबाट पनि आफूलाई अघि बढाएको थियो। त्यतिबेला समूहका शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्ने प्रावधान थियो। अहिले त्यसमा परिवर्तन भइसकेको छ र हरेकलाई अघिल्लो चरण पुग्न कडा मेहनत गर्नुपर्ने पक्का छ। सहभागी राष्ट्रलाई पाँच समूहमा विभाजन गरिनु र त्यसको समूह विजेता मात्र स्वतः अघिल्लो चरणमा जानुले पनि यात्रा सहज छैन। आयोजकका नाताले माल्दिभ्सले स्वतः अन्तिम चरणमा प्रवेश पाउनेछ। पाँचै समूहको उत्कृष्ट उपविजेताले दुई टोलीले अर्को वर्ष हुने च्यालेन्ज कपको अन्तिम चरणमा प्रवेश पाउनेछन्। यही प्रणालीका कारण पनि यसपटकको छनोट अघिल्लो संस्करणभन्दा कठिन छ।
यस्तोमा नेपाली टोलीले समूह चरणको यात्रा पार गर्ला, अहिले घरेलु दर्शकको कौतुहलता यसैमा अडिएको छ। पछिल्लो पटक नेपाली टोलीले पाकिस्तानविरुद्ध गरेको प्रदर्शनबाट धेरै उत्साहित वा आशावादी हुने ठाँउ छैन। माघ २४ र २७ गते दशरथ रंगशालामा भएका दुवै मैत्रीपूर्ण खेल नेपालले समान १–० ले हराएको थियो। लामो समयदेखिको गोल गर्न नसक्ने समस्याले ती खेलमा पनि निरन्तरता पाएपछि सबैको मनमा चिसो पसेको हुनुपर्छ, शनिवारबाट सुरु हुने च्यालेन्ज कपमा पनि नेपाली टोली गोलका लागि तड्पिरहनु पर्ने त हैन। गोल हुन नसकेकै कारण पछिल्ला वर्षहरूमा फरवार्डहरू आलोचनाका शिकार भइरहेका छन्।
तर, पटक–पटक राष्ट्रिय टोली सम्हालिसकेका नेपाल पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठ फरवार्डलाई मात्र दोष दिनु अन्याय मान्छन्। ‘गोल नभएपछि फरवार्डको आलोचना हुनु स्वाभाविक हो। तर, उनीहरूलाई मात्र दोष दिनु जायज होइन। स्ट्राइकरले जादु गर्ने होइन। स्ट्राइकरको प्रदर्शन धेरै हदसम्म मिडफिल्डमा भरपर्छ,’ उनी भन्छन्, ‘मिडफिल्डबाट बल सप्लाइ हुन सकेन भने फरवार्डले मात्र केही गर्न सक्दैन। मिडफिल्ड सहयोगी नहुँदा गोल गर्न गाह्रो हुन्छ। अहिले नेपाली टोलीको खास समस्या त्यही हो।’
भनिन्छ हारले धेरै प्रश्न जन्माउछ। फुटबलमा सफल नतिजामात्र आलोचना बन्द गराउने अचुक औषधी हो। विगतका कमजोर प्रदर्शनलाई बिर्साउने हो भने च्यालेन्ज कपको समूह चरण नेपाली टोलीले पार लगाउनुपर्छ। होइन भने टोलीसँग नयाँ प्रशिक्षक ज्याक स्टेफानोस्कीको पनि आलोचना हुनेछ। पाकिस्तानविरुद्धको दुई मैत्री खेल उनको प्रशिक्षणमा पहिलो भएकोले हारका बावजुद उनले त्यति आलोचना खप्नु परेन। अब अवस्था बदलिएको छ। उनले महिना दिनभन्दा बढी राष्ट्रिय टोलीको प्रदर्शनमा बिताइसकेका छन्। हरेक खेलाडीको क्षमता पनि जाँचिसकेको हुनुपर्छ। ए डिभिजन लिग बीचमै रोकेर च्यालेन्ज कपको तयारीमा जुटेकोले खेलाडीमा फिटनेसको समस्या रहने छैन। तथापि फेरी पनि खराब प्रदर्शनकै निरन्तरता रह्यो भने उनको रणनीतिमाथि प्रश्न उठ्न सुरु हुनेछन्। यद्यपि दुईचार खेल वा एउटै प्रतियोगिताले कसैको मूल्यांकन गर्न मिल्दैन। तर, बंगलादेश जस्तो चिरपरिचित प्रतिद्वन्द्वी र नौलौ विपक्षी नर्दन मारिया आइल्यान्डसँग घरेलु दर्शकले जितको अपेक्षा राख्नु अन्यथा हुनेछैन। जित सहज भने हुनेछैन। सबै टोली समान लक्ष्य भनेको छनोट चरण पार गर्ने नै हो। प्यालेस्टानलाई समूहको बलियो दाबेदार मानिएको छ, त्यसैले उसँगको खेल नेपालका लागि सहज नहुन सक्छ। तर, संयोगले सुरुआती दुई खेलमा नर्दन मारियाना र बंगलादेशसँग जित निकाल्न सके, अन्तिम खेलमा प्यालेस्टानलाई दबाबमा राख्ने अवस्था बन्न सक्छ। त्यसकारण पनि नेपालका लागि सुरुआती दुई खेल महŒवपूर्ण हुनेछ।
पाकिस्तानसँगको खेलका दौरान प्रशिक्षक स्टेफानोस्कीले खेलाडीको क्षमता प्ररिक्षण गरिरहेको बताएका दिएका थिए। भर्खर टोली सम्हालेका कारण उनको भनाइ स्वभाविक पनि थियो। अब साँच्चै उनले खेलाडीको क्षमता चिने वा चिनेनन्, त्यो नर्दर मारिया आइल्यान्डसँगको खेलबाट अनुमान गर्न सकिन्छ।
पुलिसका प्रशिक्षक श्रेष्ठ नेपाली टोलीले खेलाडीको क्षमता चिन्न नसक्नुलाई हारको कारण मान्छन्। ‘हामी सिस्टममा कहीँ न कहीँ चुकेका छौँ। ४–३–३, ३–५–२ वा ४–४–२ जस्तो फर्मेसनमा खेलाए पनि खेलाडीलाई क्षमताअनुसार जिम्मेवारी दिनुपर्छ,’ उनीले स्पष्ट पारे, ‘हरेक खेलाडीको बलियो र कमजोर पक्ष हुन्छ। त्यसलाई प्रशिक्षकले चिन्नुपर्छ र उसमा भएको क्षमताअनुरूप प्रदर्शन लिने प्रयास गर्नुपर्छ।’
सन् २००६ बाट सुरु भएको एएफसी च्यालेन्ज कपमा नेपालको प्रदर्शनलाई सन्तोषजनक नै मान्नुपर्छ। तथापि नेपाल एक पटक मात्र सेमिफाइनल पुग्न सफल भएको छ। त्यतिबेला क्वार्टरफाइनलमा भारतलाई हराए पनि नेपाल सेमिफाइनलमा श्रीलंकासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
बंग्लादेशमा भएको पहिलो संस्करणमा १६ राष्ट्रलाई एकै थलोमा उतारिएपछि दोस्रो संकरणबाट प्रतियोगितालाई छनोट र अन्तिम गरि दुई चरणमा विभाजन गरेर खेलाउन थालियो। पहिलो संस्करणमै नेपालले अन्तिम चारसम्मको यात्रा गरेर एसियाली राष्ट्रको ध्यान खिचे पनि त्यसपछि भने टोली लगातार संघर्ष गर्दै आएको छ।
सन् २००८ को संस्करणमा छनोट चरण पार गरेको नेपाल सन् २०१० मा भने समूह चरणबाटै बाहिरिएको थियो। सन् २०१२ नेपाल पुनः अन्तिम चरणमा छनोट हुन सफल भयो। त्यतिबेला बेलायती प्रशिक्षक ग्राहम रोबटर््स प्रशिक्षक थिए। त्यतिबेला भर्खर टिम सम्हालेका रोबर्टसको चर्चा समूह चरण पार गरेसँगै चुलिएको थिए। सन्काहा भए पनि उनी नेपाली फुटबल प्रेमीमा लोकप्रिय थिए। कारण उनको समयमा नेपालीले केही सफल नतिजा निकालेको थियो।
प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेतृत्वमा नेपाली टोलीले कस्तो प्रदर्शन गर्नेछ, फुटबलप्रेमीको चासो बनेको छ। पहिलो संस्करणमा नेपाली टोली भारतीय पूर्व खेलाडी श्याम थापाको प्रशिक्षणमा थियो भने त्यसको दुई वर्षपछि जर्मनी प्रशिक्षक थोमस फ्लाथले छनोट चरणमा प्रशिक्षण सम्हालेका थिए। अन्तिम चरणमा विराटकृष्ण श्रेष्ठले टोली सम्हाल्ने अवसर पाएका थिए। सन् २०१० को च्यालेन्ज कप छनोटमा योगम्बर सुवाल प्रशिक्षक थिए। त्यस संस्करणमा दुवै खेलमा बराबरी खेलपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। रोबर्ट्स मात्र त्यस्ता प्रशिक्षक हुन् जसले समूह र अन्तिम चरणमा पनि नेपाली टोलीको कमान सम्हालेका थिए।

एएफसी च्यालेन्ज कप छनोट समूह ‘डी’
सहभागी राष्ट्र : नेपाल, प्यालेस्टाइन, बंगलादेश नर्दन मारियाना आइल्यान्ड

गते खेल समय
फागुन १९ प्यालेस्टाइनविरुद्ध बंगलादेश २:०० बजे
नेपालविरुद्ध नर्दन मारियाना आइल्यान्ड ५:०५ बजे
फागुन २१ नर्दन मारियाना आइल्यान्डविरुद्ध प्यालेस्टाइन २:०० बजे
नेपालविरुद्ध बंगलादेश ५:०५ बजे
फागुन २३ बंगलादेशविरुद्ध नर्दन मारियाना आइल्यान्ड्स २:०० बजे
नेपालविरुद्ध प्यालेस्टाइन ५:०५ बजे

Leave a Reply

Your email address will not be published.