धनगढीमा क्रिकेट मेला

विनोद पाण्डे- दुई दशकअघि फर्केर हेर्ने हो भने राजधानीमा लिग क्रिकेट भएको तथ्य फेला पारिन्छ। यसमा संलग्नहरू काठमाडौँ क्रिकेट लिगको ‘फ्ल्यास ब्याक’ मा निकै रमाउँछन्। मोरङमा क्रिकेट लिग सञ्चालन भएको पछिल्लो पुस्तालाई पनि थाहा छ। यी सबै नेपाली क्रिकेटमा दन्त्यकथा बनिसकेका छन्।

लिग क्रिकेट कुनै पनि देशको मेरुदण्ड मानिन्छ। दुर्भाग्य नै भन्नुपर्छ, नेपालले सन् १९९६ देखि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेयता क्षेत्रीयस्तरमा हुने लिग क्रिकेट पनि हराएका छन्। अघिल्लो साता सम्पन्न धनगढी क्रिकेट लिगले क्षेत्रीय क्रिकेट लिगको सम्भावना ब्युँताएको छ। यसको सफलताले नेपाली क्रिकेटलाई सम्भावनाको बाटो देखाएको छ।
सुदूरपश्चिमकै पहिलो धनगढीको क्रिकेट एकेडमीले लिग क्रिकेटलाई ब्यँुताउने प्रयास गर्‍यो। मंसिर ३० गते सुरु भएर फागुन १२ गते सम्पन्न धनगढी क्रिकेट लिग शनिवार र सार्वजनिक बिदाको दिन खेलाइएको थियो। यसले खेलाडीको अध्ययनमा बाधा अवरोध गरेन र अधिकांश युवा खेलाडीले खेल्ने मौका पाए। ४०–४० ओभरमा खेलाइएको खेलमा एसपीए क्रिकेट क्लब, कैलाली बहुमुखी क्रिकेट क्लब, ऐश्वर्य विद्या निकेतन क्रिकेट क्लब, धनगडी स्पोर्ट क्लब, टिकापुर क्रिकेट क्लब, सिर्जनशील युवा क्लब, धनगढी क्रिकेट एकेडेमी (टाइगर), धनगढी क्रिकेट एकेडेमी (इगल्स) र सिर्जनशील युवा क्लब अत्तरिया बोराडाँडीको खेल मैदान फाप्लामा प्रतिस्पर्धी भएका थिए।
कैलाली बहुमुखी क्रिकेट क्लबलाई १३ रनले पराजित गरी सिर्जनशील विजेता बन्यो। विजेतालाई नगद २५ हजार र उपविजेतालाई १० हजार प्रदान गरिएको थियो। म्यान अफ् द फाइनल पुरन थापाको ६५ रनमा सिर्जनशीलले १ सय ६७ रन बनायो। कैलालीको इनिङ १ सय ५४ रनभन्दा माथि उठ्न सकेन। एसपिएका निशान्त थापा १ सय ६२ रन बनाउनुका साथै ५ विकेट लिई म्यान अफ् द सिरिजमा चुनिए। १८ विकेट लिएका कैलालीका संजय पन्त उत्कृष्ट बलर र १ सय ४१ रन बनाएका सिर्जनशीलका पुरन उत्कृष्ट ब्याट्सम्यानमा चुनिए। सिर्जनशीलकै ज्ञानेन्द्र कुँवर उत्कृष्ट फिल्डर बने। धनगढी क्रिकेट एकेडेमीका प्रशान्त भण्डारी, शैलेन्द्र रेग्मी, अनमोल स्वाँर, गणेश बोहरा, पारस रावलले उदयीमान खेलाडीको पुरस्कार पाए।
स्थानीयको सहयोगका कारण प्रतियोगिता सफल भएको मान्छन, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही। ‘अहिले हामीले समय अभावका कारण दुई समूहमा विभाजान गरेर खेलायौँ। अर्को वर्षदेखि हामी एकले अर्को टोलीसँग खेली चार महिनासम्म लिग आयोजना गर्नेछाँै,’ शाहीले भने। मंसिर २० गते स्थापना भएको धनगढी क्रिकेट एकेडेमीले १० दिन नबित्दै लिगको अवधारणालाई मैदानमा उतारेको थियो। १२ देखि १४ वर्षका धनगढी क्रिकेट एकेडेमीका खेलाडीका लागि यो निकै नौलो अनुभव रह्यो। उनीहरू भन्छन्, ‘लिगमा खेलेसँगै यसमा हाम्रो लगाव बढेको छ। हामीले यसबाट धेरै सिक्ने मौका पायौँ। यस्ता थुप्रै प्रतियोगिताहरूमा सहभागिता जनाइ हामी सक्षम खेलाडी बन्न चाहान्छौँ।’
धनगढी यस वर्ष क्रिकेटको माहोलमा रमाउनु पर्ने तेस्रो ठूलो कारण थियो। अघिल्लो महिनामात्र झकिझकाउका साथ नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीको एसपिए कप आयोजना भएको थियो। नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका भुवन कार्की एसपिए कपको ब्रान्ड एम्बस्डर थिए। भुवन धनगढीकै हुन्। अर्को महिना उनी इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा अभ्यास गर्न जाँदैछन्। धनगढी क्रिकेट एकेडेमी तथा धनगढी क्रिकेट लिगमा खेलेका खेलाडीहरू भुवनको पथ पछयाउँदै लामो यात्रा तय गर्न लालायित छन्।

Leave a Reply

Your email address will not be published.