पारसको रक्तश्राव रोकियो, स्थिति चिन्ताजनकै

काठमाडौं- हृदयघात पछि पाँच दिनदेखि बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको पेटको रक्तश्राव रोक्न चिकित्सकहरु सफल भएका छन्। थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज सुखुम्भित अस्पतालका चिकित्सक  सायन चिपुडोमवितले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। ‘शाहको रक्तचाप सन्तुलनमा ल्याउनुपर्ने औषधिको मात्रा पनि आज घटाइएको छ’, विज्ञप्तिमा भनिएको छ। आन्तरिक रक्तश्राव रोकिए पनि उनको स्वास्थ्य स्थिति चिन्ताजनक तर स्थिर नै रहेको अस्पतालले उल्लेख गरेको छ।

हिजो पेटमा आन्तरिक रक्तश्राव भएपछि स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। रक्तश्रावपछि उनलाई सिसियुबाट भेन्टिलेटरमा सारिएको थियो। चार दिनअगाडि हृदयघात भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा अचेत रहेका उनको होस खुलेको छैन।  शुक्रबार पारसको अवस्थाबारे अफवाह फैलेपछि अस्पतालले स्वास्थ्य अवस्था सार्वजनिक गर्न विज्ञप्ति निकाल्न थालेको हो।

पारशको उपचारमा सहयोग गर्न हाल हिमानी बैंककमै छिन्। हृदयघात भएको दोस्रो दिन बहिनी प्रेरणा सिंहसँगै पूर्व अधिराजकुमार धीरेन्द्रकी छोरीज्वाइँ पूजा शाही, डा. राजीव शाही, दिलाशा र आदर्शविक्रम राणा बैंकक पुगेका थिए। उनीहरू अझै उतै छन्।

यता बारामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह तथा कोमल आज काठमाडौं फर्किएका छन्। पारस ज्ञानेन्द्रका एक्ला छोरा हुन्। काठमाडौं फर्किए पनि पूर्व राजाको बैंकक यात्रा बारे हालसम्म कुनै योजना सार्वजनिक भएको छैन।

Leave a Reply

Your email address will not be published.