तिलकराम थारुको नयाँ राष्ट्रिय कीर्तिमान

Tilakram Tharu new
तिलकराम थारु। तस्बिर : विकास कार्की

काठमाडौं– ओलम्पियन तिलकराम थारुले २ सय मिटर दौडमा १८ बर्ष पूरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। दशरथ रंगशालाको ट्रयाकमा आइतबार सम्पन्न दोस्रो गोल्डेन स्पि्रन्ट मिटमा स्वर्ण पदक जित्ने क्रममा तिलकरामले रामकृष्ण चौधरीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन्। तिलकरामले २१.७१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। रामकृष्णले सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद (साफ) मा २९.९२ सेकेन्डको टाइमिङका साथ कीर्तिमान राखेका थिए। गतबर्ष छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जितेका तिलकरामले १ सय मिटरमा पनि स्वर्ण पदक जिते। राष्ट्रिय कीर्तिमान बनाएवापत उनले ५ हजार रुपैंयाँ पाए।
एपिएफकी दीलमाया कार्की र सविता चौधरीले महिलातर्फ २/२ स्वर्ण जिते। दीलमायाले २ सय र ४ सय मिटरमा स्वर्ण जितिन। २ सय मिटर दौड २७.१ सेकेन्डमा पूरा गरेकी दीलमायाले ४ मिटर दौडका लागि ६०.३ सेकेन्ड खर्चिइन्।
सविताले १ सय र ४ सय मिटर हर्डल्समा प्रथम स्थान हासिल गरिन्। ४ सय मिटर हडल्सको चुनौति १ मिनेट १०.२ सेकेन्डमा पूरा गरेकी सविताले १ सय मिटर हर्डल्सका लागि १८.९ सेकेन्ड लगाइन्। सविता विजयी भएको दुवै इभेन्ट्समा सुनिता तामाङ दोस्रो भइन्।
महिला १ सय मिटर दौडमा पुलिसकी सावित्री नेपालीले स्वर्ण पदक जितिन्। उनले ओलम्पियन प्रमिला रिजाललाई हराएकी थिइन्। सावित्रीले १२.७५ सेकेन्ड खर्चिइन् भने छैटौं राष्ट्रिय खेलकुदकी चार स्वर्ण विजेता प्रमिलाले १२.८० सेकेन्ड लगाइन्। कास्य पदक विजेता विजेश्वरीकी अनिता थापाले १४.४ सेकेन्डमा दौड पूरा गरिन्।
दशरथ रंगशालामा पुरुष ४ सय मिटर दौड ५१.५ सेकेन्डको टाइमिङका साथ आर्मीका दासीराम चौधरीले जिते। आर्मीकै हेमन्त ढुंगाना (५३.१ सेकेन्ड) दोस्रो र एपीएफका हरकसिंह धामी (५६.८ सेकेन्ड) ले तेस्रो स्थान हासिल गरे। पुरुष ४ सय मिटर हडर्ल्समा आर्मीका तेजबहादुर सुनार विजयी भए। उनले १ मिनेट ०२.४ सेकेन्ड समय लगाए। आर्मीकै सागर कार्की (१ मिनेट ०३.३ सेकेन्ड) दोस्रो भए।
२ सय मिटर दौडमा आर्मीका मीनबहादुर चौधरीले (२२.९ सेकेन्ड) रजत र एपीएफ क्लबका हरिलाल चौधरीले (२५.२ सेकेन्ड) कास्य पदक जिते। १ सय मिटर दौडमा जाजरकोटका यामसाजन सुनवार (१०.७ सेकेन्ड) दोस्रो तथा आर्मीका मीनबहादुर चौधरी (११.२ सेकेन्ड) तेस्रो भए।
महिला २ सय मिटर दौडमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी बविता थापा (३२.२ सेकेन्ड) ले रजत र विजेश्वरीकै सुमित्रा थापा (३३.२ सेकेन्ड) ले कास्य पदक जितिन्। पुरुषको १ सय १० मिटर हर्डल्समा पुलिसका धीरेन्द्र चौधरी (१७.१ सेकेन्ड) ले स्वर्ण र आर्मीका शोभाकान्त जम्मरले रजत पदक जिते।

सविता चौधरी। तस्बिर :विकास कार्की
सविता चौधरी। तस्बिर : विकास कार्की

समान २ स्वर्ण जितेका तिलकराम र दीलमाया वन्तले उत्कृष्ट स्पि्रन्टरको पुरस्कार जिते। दवैले समान ५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल एमेच्योर एथलेटिक्स संघ तथा काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताका विजेताले समान ३ हजार रुपैयाँ प्राप्त गरे। आयोजकले निर्धारण गरेको समय अगाडि दौड पूरा गरी दोस्रो स्थान हासिल गरेका याम र प्रमिलालाई १/१ हजार रुपैयाँ प्रदान गरियो। एक दिने प्रतियोगितामा १९ पुरुष तथा १८ महिला खेलाडीको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.