शान्ति चौधरीद्वारा लिखित पुस्तकको उपराष्ट्रपतिद्वारा लोकार्पण

काठमाडौं- उपराष्ट्रपति परमानन्द झाले लेखक तथा कवयित्री शान्ति चौधरीद्वारा लिखित दुई कृति ‘बागमती नदी र टौदह’ तथा ‘टौदह, शिवकाली, चम्पादेवीमा बागमती पुल’ को आज यहाँ लोकार्पण गरे। सिर्जना विकास केन्द्रद्वारा प्रकाशित ती कृतिमा बागमती नदीको ऐतिहासिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएको छ। सो अवसरमा उपराष्ट्रपति झाले ऐतिहासिक र धार्मिक महत्व बोकेको बागमती नदी दिन प्रतिदिन कुरुप बन्दै जानु चिन्ताको विषय रहेको चर्चा गर्दै यसलाई जोगाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले भने, “उपत्यकाको बसोबास कम नहुन्जेलसम्म नदीलाई कुरुप हुनबाट जोगाउन सकिँदैन, यसतर्फ सबैले ध्यान दिनुपर्छ।” गोरखापत्र दैनिकका प्रधानसम्पादक सीताराम अग्रहरिले लेखकका दुबै कृतिमाथि टिप्पणी गर्दै धार्मिक आस्था र श्रद्धाका केन्द्र बागमती नदीमा ढल मिसाउनेमाथि कडा भन्दा कडा कारबाही नगरिएसम्म बागमती सफा नहुने धारणा राखे। लेखक चौधरीले बागमती सभ्यताको प्रतीक भएकाले यसबारे उजागर गर्न आफूले कृति रचना गरेको जानकारी दिए। सो अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले बागमती नदी सफा बनाउन कोषले विभिन्न कार्य गर्दै आएको जानकारी दिए। कृतिमाथि सोबितराम कार्की र केबी तुलाधरले समीक्षा गरेका थिए। रासस

 

 

Leave a Reply

Your email address will not be published.