राष्ट्रियताका विषयमा सम्झौता हुँदैन : उपाध्यक्ष श्रेष्ठ

हेटौंडा- एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सिमानाका विषयमा जनमत सङ्ग्रहमा जाने भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले राष्ट्रियताको विषयमा कोही कसैसँग पनि सम्झौता नगर्ने बताए। उनले सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिलगायतका असमान सन्धिहरु खारेज गरेर अगाडि जानुपर्ने र पार्टीले त्यसका विषयमा प्रस्ट धारणा तयार पार्ने बताए।
उनले भने, “राष्ट्रियताको विषयमा कोही कसैसँग सम्झौता हुन सक्दैन, यसबारे प्रस्ट धारणा बनाएर अगाडि बढ्नु आवश्यक छ, राष्ट्रियताका बारेमा प्रस्ट धारणा बनाउनु पर्छ।”
प्रतिवेदनमा समावेश गरिएका राष्ट्रियताका विषयमा विवादित विषय महाधिवेशनको बन्द सत्रबाटै हटाएर प्रस्ट पारिने उनको भनाइ छ। पार्टीको मूल स्पिरिट सही भएको, अध्यक्ष प्रचण्डले राख्नुभएको राजनीतिक प्रतिवेदन सही भएको बताउँदै उपाध्यक्ष श्रेष्ठले नमिलेका विषयहरुलाई मिलाएर समृद्ध बनाइने बताए।
पार्टीलाई समृद्ध पार्ने विषयमा महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुले धारणा राख्नुभएको बताउँदै उनले पार्टीमा यतिबेला नीतिको विषयमा छलफल भएको र पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यका बारेमा कुनै पनि छलफल नभएको उनले बताए।

पार्टी अध्यक्षको नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने र देशको आवश्यकताअनुसार पार्टीलाई अगाडि बढाउने समेत उनको भनाइ थियो। पार्टीमा विवाद नभएको र महाधिवेशनमा विषयवस्तु उठ्नुलाई नाजायज रुपमा लिन नहुने उनको भनाइ थियो।
पार्टीभित्र विभिन्न खालका विचार तथा मत रहन सक्ने बताउँदै उनले त्यसले पार्टीलाई समृद्ध बनाउने उनको भनाइ थियो। फरक एक प्रसङ्गमा उहाँले द्वन्द्वकालमा मारिएका डेकेन्द्र थापाको कुरालाई उठाउने हो भने कृष्णसेनको कुरा पनि उठाउनुपर्नेमा जोड दिए।
उनले विपक्षी दलको हठका कारण राष्ट्रिय सहमति हुन नसकेको बताउनुभयो। विपक्षीले हठ प्रदर्शन नगरेको भए देश नयाँ उत्साहका साथ अगाडि बढेको हुने थियो, उनीहरुकै कारण देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको छ, यसलाई हल गर्नका लागि पनि दलहरु मिल्नुको विकल्प छैन, उपाध्यक्ष श्रेष्ठले भने। रासस

Leave a Reply

Your email address will not be published.