राष्ट्रिय फुटबल टोली छनोट, १० खेलाडी नयाँ

काठमाडौं- फागुनमा हुने एएफसी च्यालेन्ज कपको समूह चरणलाई राष्ट्रिय फुटबल टोलीको पहिलो चरण छनोटमा १० नयाँसहित ३१ खेलाडी परेका छन्। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको दुई दिन अघि सोमबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पछिल्लो पटक राष्ट्रिय टोलीमा रहेका रुपेश केसी, सुजल श्रेष्ठ र विकाससिंह क्षेत्रीसहित १७ खेलाडी अटेनन्। 

गत महिना राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पहिलोपल्ट पत्रकार सम्मेलनमा बोल्दै पोल्यान्डका ज्याक स्टेफोन्स्कीले लिगको प्रदर्शन, प्रशिक्षण र भिडियो फुटेजका आधारमा खेलाडी छनोट गरेको जानकारी दिए।
नयाँ दस खेलाडीमा सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा ९ गोल गरेका म्याकडोवेल्स आरसिटीका अमर डंगोलसहित थ्री स्टारका विजय धिमाल, विक्रम लामा, मछिन्द्रका विशाल राई ए र दीपक राई छन्। यती हिमालयन शेर्पाका गणेश खड्का, आर्मीका नवयुग श्रेष्ठ, एपिएफका राजेन्द्र रावल, आइसबर्ग मध्यपुरका सरोज दहाल र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीका सुलभ मास्के पहिलोपल्ट प्रारम्भिक छनोट पार गर्न सफल भएका हुन्।
पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलभन्दा च्यालेन्ज कप छनोटलाई महŒवमा राखिएको जनाउँदै स्टेफोन्स्कीले भने, ‘यो मैत्री खेलभन्दा पनि हाम्रो खेलाडीले कस्तो प्रदर्शन गर्छन् भन्ने त्यसका लागि यो अर्थपूर्ण छ। हाम्रो मुख्य लक्ष्य भनेको च्यालेन्ज कप छनोट हो।’
च्यालेन्ज कप समूह ‘डी’ का खेल फागुन १९ देखि दशरथ रंगशालामा हुनेछन्। त्यसमा नेपालले छिमेकी बंगलादेशसहित प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डको सामना गर्नेछ।
पाँचौं संस्करणको च्यालेन्ज कपमा अन्तिम चरणको आयोजक माल्दिभ्सले छनोट चरणमा भाग लिनुपर्ने छैन। बाँकी २० सहभागी राष्ट्रलाई पाँच समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेता तथा पाँच समूहमध्येका उत्कृष्ट दुई उपविजेताले च्यालेन्ज कपको अन्तिम चरणमा प्रवेश पाउने छन्।
यसअघि भने हरेक समूहका शीर्ष दुई टोलीले अन्तिम चरणमा प्रवेश पाउँथे। दुई वर्षअघि उत्तर कोरियासम्मिलित समूहको उपविजेता नेपाल च्यालेन्ज कपको अन्तिम चरणमा पुगेको थियो।
समूह चरण पार गर्ने सम्भावनाका विषयमा प्रशिक्षक स्टेफोन्स्कीले भने, ‘छनोटप्रति आशावादी छौं।’ उनले २३ खेलाडीको अन्तिम छनोट केही सातापछि हुने जानकारी दिए। छनोटमा ए डिभिजन लिगको पहिलो चरणको विजेता थ्री स्टारबाट सबैभन्दा बढी ८ खेलाडी परेका छन्। नेपाल पुलिस क्लबबाट ५, मनाङबाट ३, मध्यपुर र मछिन्द्रबाट समान २ खेलाडी छनोट भएका छन्। त्यस्तै हिमालयन शेर्पा, आरसिटी, एपिएफका १-१ खेलाडी छन्। इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द स्वतः प्रारम्भिक चरणमा छानिए। छनोटमा परेकामध्ये ११ मिडफल्डर, ९ रक्षक, ८ फरवार्ड र ३ गोलकिपर छन्।
पहिलो खेल नर्दन मारियानासँग
उद्घाटनका दिन फागुन १९ गते नयाँ प्रतिद्वन्द्वी नर्दन मारियाना आइल्यान्डसँग खेल्दै नेपालले एएफसी च्यालेन्ज कप छनोटको यात्रा थाल्ने भएको छ। नेपाल र नर्दन मारियानाबीच त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ।
सोही दिन प्यालेस्टाइन र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। नेपालका सबै तीन खेल साँझ ५:३० मा सुरु हुनेछन्। फागुन २१ मा नेपालले बंगलादेशको सामना गर्नेछ भने नर्दन मारियाना आइल्यान्ड र प्यालेस्टाइन एकअर्काविरुद्ध उत्रने छन्। अन्तिम दिन फागुन २३ मा नेपालले प्यालेस्टाइन तथा बंगलादेशले नर्दनसँग खेल्नेछन्।
पाकिस्तान आउँदै
पाकिस्तान मैत्री खेलका लागि ५ वर्षपछि नेपाल आउँदैछ। च्यालेन्ज कपको तयारीमा रहेका दुवै देशले यसपटक दशरथ रंगशालामा बुधबार र शनिबार दुई मैत्रीपूर्ण खेल खेल्ने छन्। १९ खेलाडीसहित २३ सदस्यीय टोली मंगलबार साँझ काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। पाकिस्तान च्यालेन्ज कपको समूह ‘बी’ मा किर्गिस्तान, ताजकिस्तान र मकाउसँग परेको छ। यसअघि सन् २००८ मा नेपाल र पाकिस्तानले पोखरामा दुई मैत्रीपूर्ण खेल खेलेका थिए। त्यसबखत पहिलो खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा २-० ले पराजित भएको थियो।
खेलाडीको मूल्यांकन क्रममा रहेकाले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेललाई च्यालेन्ज कपको प्लेटफर्मका रूपमा लिइने नेपाली टोलीका मुख्य प्रशिक्षक स्टेफोन्स्कीले प्रस्ट पारे। ‘हामीले अपेक्षा गरेभन्दा खेलाडीले राम्रो गरिहेका छन्,’ उनले भने, ‘पाकिस्तानविरुद्धको मैत्री खेल च्यालेन्ज कपको तयारीमा रहनेछ। मैत्री खेलमा धेरैभन्दा धेरै खेलाडीलाई अवसर दिने योजना छ।’ नेपाल र पाकिस्तान पछिल्लो पटक सन् २०११ को डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा भेट भएको थियो। भरत खवासको गोलमा दुई टोलीको खेल १-१ को बराबरीमा सकिएको थियो।
टिकटदर ५ र २ सय
एन्फाले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेललाई दुई फरक टिकट दर तोकेको छ। दशरथ रंगशालामा बुधबार र शनिबार २:३० बजे सुरु हुने खेललाई भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ।
पहिलो चरणको छनोटमा परेका खेलाडी
गोलकिपर– विकेश कुथु (मध्यपुर), किरण लिम्बु (थ्री स्टार), रितेश थापा (पुलिस)
रक्षक- विजय धिमाल (थ्री स्टार), विराज महर्जन (थ्री स्टार), जितेन्द्र कार्की (आर्मी), रविन श्रेष्ठ (पुलिस), रोहित चन्द (पिएसपिएस पेकानबारु, इन्डोनेसिया), सविन्द्र श्रेष्ठ (मनाङ), सागर थापा ( फ्रेन्ड्स), सन्दीप राई ( थ्री स्टार), सरोज दाहाल (मध्यपुर)
मिडफिल्ड– अनिल ओझा (थ्री स्टार), भोला सिलवाल (पुलिस), विजय गुरुङ (थ्री स्टार), विक्रम लामा (थ्रीस्टार), गणेश खड्का (हिमालयन शेर्पा), जगजित श्रेष्ठ (फ्रेन्ड्स), नवयुग श्रेष्ठ (आर्मी), निराजन खड्का (फ्रेन्ड्स), राजेन्द्र रावल (एपिएफ), राजु तामाङ (आर्मी), सुलभ मास्के (मनाङ)
फरवाड – अमर डंगोल (आरसिटी), अनिल गुरुङ (मनाङ), भरत खवास (आर्मी), विशाल राई ‘ए’ (मछिन्द्र), चेतन घिमिरे (पुलिस) दीपक राई (मछिन्द्र), जुमानु राई (पुलिस), सन्तोष साहुखल (थ्री स्टार)
च्यालेन्ज कप समूह चरणमा नेपालको खेल
फागुन १९ विरुद्ध नर्दन मारियाना आइल्यान्ड
फागुन २१ विरुद्ध बंगलादेश
फागुन २३ विरुद्ध प्यालेस्टाइन

Leave a Reply

Your email address will not be published.