मेरो एफएम सुचारु गर्न कसैले चासो नदेखाउँदा बडो दुःख लागेको छ : रेशम चौधरी

रेशम चौधरीले आफ्नो फूलबारी एफएम सञ्चालन हुन नपाएको दुःख ब्यक्त गरेका छन्। उनले थारुकै एफएम भएका कारणले पत्रकार हकहितमा काम गर्ने संघसंस्था र राज्यले समेत सञ्चालन गर्न गम्भिरता नदेखाएको बताए। फूलबारी एफएम सम्बन्धमा उनीसँग भएको कुराकानीको अंश:

टीकापुरको आन्दोलन जनता जनताबीच भएको आन्दोल थियो। पहिचान पक्षधरले आफ्नो माग मागिरहँदा र राज्यसँग झडप गरिरहँदाको कुरा एउटा पाटो हो। तर फूलबारी एफएम सञ्चारमाध्यम हो। सूचना प्रहाव गर्ने सञ्चारमाध्यम हो। कर्फ्युका बावजुद यो एफएममा आगो लाग्नु, निश्चय पनि सुरक्षा निकायको ठूलो कमजोरी हो।

आगो लगाइसकेपछि पनि यसलाई कसरी सञ्चालन गर्ने भनेर सदियौंदेखि पत्रकार हकहितका लागि खोलिएका पत्रकार महासंघ, निजी प्रसारण संस्था, सामुदायिक रेडियो प्रसारण संस्था कसैले पनि आवाज नउठाउँदा मलाई दुःख लागेकै छ। कानुनी अडचनका कारण म केही दिन बाहिर बसुँला। तर फूलबारी एफएमकी स्टेशन म्यानेजर रञ्जिता श्रेष्ठ हुनुहुन्थ्यो उहाँले पनि स्टेशन सञ्चालन गर्न सक्नुहुन्थ्यो। फूलबारी एफएममा काम गरिरहनुभएका साथीहरु हुनुहुन्थ्यो। उहाँहरुले पनि रेडियो सञ्चालन गर्नुहुन्थ्यो।

एउटा सञ्चारमाध्यमै जल्दा पनि राज्यका निकायमा रहेका पत्रकार महासंघलगायतले नबोल्नु, पौने दुई वर्षसम्म पनि रेडियो सञ्चालनमा नआउनु, त्यसका पक्षमा आवाज नउठाउनु, त्यसका पक्षमा समाचार नलेखिनु निश्चय पनि दुःख लाग्दो कुरा हो।

कुनै पत्रकार साथी दुर्घटनामा पर्दा, कुनै पत्रकार साथी बिरामी भयो भने च्नदा दिएको छु। मैले पत्रकार महासंघका लागि आफूले गर्नसक्ने सहयोग गरेको छु। तर उहाँहरुले फूलबारी एफएम सञ्चालन गर्न चासो किन देखाउनुभएन? यसलाई मैले दमनको रुपमा लिएको छु। यसलाई थारु समुदायले पनि दमनकै रुपमा लिएको छ।

एउटा थारुको एफएम भएको नाताले ,एउटा थारुले खोलेको प्रसारण संस्था भएको नाताले, यसलाई राज्यले विभेद गरिरहनु, यसलाई खोल्नेतर्फ नलाग्नु, एफएमको टावरमा ढुंगाले हिर्काउन जानु, एफएमभित्रका बोटबिरुवा काटिनु, इटा लुटिनु, झ्याल ढोका चोरेर लानु, त्यति भइसक्दा पनि टीकापुरमा रहेको सुरक्षा निकाय आँखा चिम्लेर बसिरहनु यो त अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.