महोत्सवका लागि ४० लाख सङ्कलन

दाङ- बहुउद्देश्यीय सामुदायिक सभागृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालन हुन गइरहेको दाङ व्यापारिक तथा पर्यटन महोत्सवको प्रायोजन र विभिन्न निकायको सहयोग महोत्सव अगावै अहिलेसम्म करिब रु ४० लाख सङ्कलन भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ २८ देखि फागुन ८ गतेसम्म हुने महोत्सवका लागि मुख्य प्रायोजक, विशेष प्रायोजक, प्रायोजक, विशेष सहयोगी एवं अन्य विभिन्न निकायबाट अहिलेसम्म रु ४० लाख सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक मधुसुधन वैद्यले जानकारी दिए।
करिब दुई हजार २०० व्यक्ति अट्ने क्षमता भएको सभागृह निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेलामा रु १५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ।
महोत्सव अवधिभर पाँच लाख दर्शकलाई सहभागी गराउने र महोत्सवबाट भएको आम्दानीले सबै खर्च कटाएर रु ५० लाख सभागृह बनाउनका लागि कोषको रुपमा राखिने महोत्सव आर्थिक सङ्कलन समितिका संयोजक धु्रवराज श्रेष्ठले जानकारी दिनुभयो।

महोत्सवमा रहने २२५ वटा स्टलमध्ये हालसम्म ८० प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमितिका संयोजक दुर्गाप्रसाद पन्थले जानकारी दिए। ती स्टलहरुमा कृषिजन्य सामग्री, जडिबुटी तथा एवं अन्य व्यापारिक कारोबार हुने सामग्री राखिने जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.