ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया

कञ्चनपुर- ऋण काढेर कञ्चनपुरका मुक्त हलिया परिचयपत्र लिन भूमिसुधार कार्यालय महेन्द्रनगर पुगेका छन्। दक्षिणी क्षेत्र रैकवारविचवा–४ कलुवापुरका मुक्त हलियाले तीन महिनासम्म कार्यालय धाउँदा पनि परिचयपत्र पाएका छैनन्। कलुवापुरकी धनु दमाईले ऋण निकालेर परिचयपत्र लिन कार्यालय आएको बताइन्। घरायसी कमजोर अवस्था भएकाले गाडी भाडाका लागि ऋण निकालेको उनले बताइन्।

‘श्रीमान् बुढो छन्, घरमा अरु कोही छैन, गाडी भाडाका लागि ऋण निकालेर परिचयपत्रका लागि आएकी हुँ’ उनले भनिन्, ‘अहिलेसम्म पाएका छैनौँ।’ परिचयपत्र पाएपछि जग्गा पाउने आशमा ऋण निकाले भूमिसुधार कार्यालय पुगेकी उनको भनाइ छ। परिचयपत्र लागि बिरामी बोकेर आएकी छु उनले भनिन्।
रैकवारबाट महेन्द्रनगरसम्म पुग्न रु १०० गाडी भाडा लाग्छ। आउजाऊ र चिया नास्ता खर्च गरी रु ३०० सम्म खर्च हुने गरेको सलुराम सार्कीले बताए। दैनिक मजदुरी गरी जीविका चलाउने भएकाले ऋण निकालेर आउन परेको सार्कीले बताए। घरमा केही छैन, ज्यालादारी खाने छौं उनले भने, ‘ऋण निकालेर आउनबाहेक अरु केही छैन।’

तीन महिनासम्म कार्यालय धाउँदा पनि बैठक नबसेको भन्दै फर्काउने गरिएको इन्द्र भुलले बताए। आज पाइन्छ, भोलि पाइन्छ भन्दै फर्काउने गरिएको छ’ उनले भने, ‘तीन महिना भइसक्यो।’

बिहीबार भूमिसुधार कार्यालय पुगेका उनीहरुलाई पुनः बैठक नबसेको भन्दै रित्तो हात फर्किएका छन्। ‘तथ्याङ्क सङ्कलनपछि छिट्टै परिचयपत्र पाउने आशामा थियौँ’ इन्द्र सार्कीले भने, ‘अहिलेसम्म धाउँदा नपाउँदा दुःख लागेको छ।’ कलुवापुरमा १३ परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। मुक्त हलिया पुनःस्थापन अनुगमन कार्यदलले हलिया पहिचानका लागि परिचयपत्र दिने गरेको हो।

भूमिसुधार कार्यालयले हलियालाई परिचय दिइरहेको छ। कार्यालयले हालसम्म ८०० जनाको प्रमाणीकरण गरी ५०० भन्दा बढीलाई परिचयपत्र वितरण गरिसकेको छ। भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मणबहादुर कठायतले कार्यालयबाट दैनिक परिचयपत्र दिने कार्य भइरहेको बताए। रासस

Leave a Reply

Your email address will not be published.