हरिपुर हात्ती पीडितले गरे चक्काजाम

इटहरी- सुनसरी जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएको हरिपुरका स्थानीयवासीले हात्ती आतङ्क नियन्त्रणमा प्रशासनले काम नगरेको भन्दै बिहीबार बिहानखि सो क्षेत्रमा यातायात अवरुद्ध पारेका छन्। पटक–पटक हात्ती नियन्त्रणका लागि प्रशासन गुहार्दै आएका स्थानीय हात्ती पीडितले हरिपुर–३ की ५५ वर्षीया मौलीदेवी मुखियाको हिजो राति जङ्गली हात्तीले मारेपछि आक्रोशित भएर सडक आन्दोलनमा ओर्लिएका हुन्।
हात्ती आतङ्क नियन्त्रण तथा पीडितको नोक्सानीका आधारमा क्षतिपूर्तिको माग गर्दै हिजो सडक आन्दोलन गरिरहेको अवस्थामा न्याय दिनुको सट्टा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै स्थानीयवासीले आज पनि सो क्षेत्रमा यातायात बन्द गरेर सडकमा नाराबाजी गरिरहेका छन्।
सो क्षेत्रमा यातायात बन्दका कारण पूर्वबाट पश्चिम गएका र पश्चिमबाट पूर्वतिर आउँदै गरेका दर्जनौँ सवारी साधन अलपत्रमा परेका छन्। हात्तीले मारेको मौलीदेवीका शव परीक्षणका लागि प्रहरीले हिजै इनरुवास्थित जिल्ला अस्पतालमा ल्याएको भए पनि अझै आफन्तलाई शव नदिएको स्थानीयवासी पञ्चनारायण मण्डलले जानकारी दिए।
पछिल्लो समयमा हरिपुर क्षेत्रमा मात्र जङ्गली हात्तीले ६० वटाभन्दा बढी स्थानीयवासीको घर भत्काइसकेको र हिजो राति ज्यान लिँदा समेत प्रहरी प्रशासनले जङ्गली हात्तीलाई नियन्त्रण गर्नेतर्फ चासो नराखेको स्थानीय पीडितको भनाइ रहेको छ।
जङ्गली हात्तीले गर्दै आएको उपद्रोको विषय र पीडितलाई क्षतिपूर्तिलगायका विषयमा आज दिउँसो कोसीटप्पु वन्यजन्तु आरक्षमा छलफल हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिएको मण्डलले बताए। रासस

Leave a Reply

Your email address will not be published.