एसीसी च्याम्पियनमा नेपाल तेस्रो, थाइल्यान्ड विजेता

काठमाडौं- उपाधि जित्ने लक्ष्यमा असफलता हात पारे पनि नेपालले एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई हराउँदै तेस्रो स्थान पाउन सफल भएको छ। नेपाललाई सेमिफाइनलमा पराजित गरेको थाइल्यान्डले आज चीनलाई हराउँदै उपाधि चुमेको छ। थाइल्यान्डको चियाङमाइस्थित जिमखाना मैदानमा भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। यसअघि समूह चरणमा पनि नेपालले हङकङलाई पराजित गरिसकेको थियो।

पिचको स्थितिका कारण १९ ओभरमा घटाइएको खेलमा हङकङले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा ३२ रनमात्रै जोड्न सकेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले ७.३ ओभरमै विजयी लक्ष्य भेट्टाएको थियो। नेपालका तर्फबाट नेरी थापाले तीन विकेट लिइन्। रुबिना क्षेत्रीले दुई र सोनु खड्का र करुणा भण्डारीले एक-एक विकेट लिइन्।

उता, उपाधिका लागि आयोजक थाइल्यान्डले चीनलाई १७ रनले पराजित गर्‍यो। निर्धारित २५ ओभरको खेलमा पहिले ब्याटिङ गर्दै थाइल्यान्डले ९५ रन जोडेको थियो। ९६ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको चिनियाँ टोली खेल सकिन २ बल बाँकी छँदै ७८ रनमा अल आउट भयो।

Leave a Reply

Your email address will not be published.