एकाध मान्छेले ढुङ्गा हानेकै भरमा सरकार छाड्दैनौं : दाहाल

ललितपुर- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकाध मान्छेले ढुङ्गा हानेकै भरमा जनताले चाहेको परिवर्तन नरोकिने बताएका छन्। उनले ढुङ्गा हानेकै भरमा एमाओवादीले समेत सरकार नछाड्ने बताए। ललितपुरको मङ्गलबजारमा एमाओवादी ललितपुरको सातौं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले आफ्नो पार्टीको महाधिवेशन भाँड्न विपक्षी दलले एक दर्जनको हाराहारीमा मान्छे पठाएर फासीवादी चरित्र प्रदर्शन गरेको र यस्तो व्यवहारले एमाओवादीलाई नभई उनीहरूलाई घाटा हुने बताए।

आफूलाई लोकतन्त्रवादी बताउने दलहरूले प्रदर्शन गरेको व्यवहारका कारण केही वर्षपछि उनीहरूको अस्तित्व इतिहासको पानामा मात्रै खोज्नुपर्ने अवस्था आउने चेतावनी दिँदै अध्यक्ष दाहालले धम्की दिएर होइन सहमतिमा आएर राष्ट्रिय सहमति कायम गर्न अनुरोध गरे।
राजनीतिकरुपमा इमान्दारी देखाएर मात्रै जनताको विश्वास जित्न सकिनेमा जोड दिँदै उनले गैरराजनीतिक चिन्तनले कसैको हित नगर्ने बताए। आफ्नो पार्टी आगामी जेठ १५ गतेसम्म संविधान सभाको नयाँ निर्वाचन गराउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँदै अध्यक्ष दाहालले भने, “जनतामा जाने हिम्मत छ भने निर्वाचनमा जाऔं, जनताले जसलाई जिताउँछन् त्यहीलाई स्वीकार गरौं, होइन भने गैरराजनीतिक व्यवहार प्रदर्शन गरेर दुनियाँ हसाउने काम नगरौं।”

नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहमति नचाहेको आरोप लगाउँदै उनले सहमति कायम गर्ने हो भने तत्काल सहमतिमा आएर निर्वाचन गर्नेतर्फ लाग्नु नै अहिलेको आवश्यकता हो भने।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले बहुदलीय व्यवस्थाको २२ वर्षमा २० वर्ष सरकारमा बसेका नेपाली कांग्रेस र नेकपा एमालेले एक डेढ वर्षदेखि सरकारमा बस्न नपाएको छटपटी देखाएको बताए।
विगतमा कांग्रेस र एमालेको सरकारले के–के काम गरेका छन् भन्ने विषयमा जनताले थाहा पाएका छन्, त्यसकारण यतिबेला सत्ता नपाएको छटपटी देखाएर देशमा अराजकता मच्चाउने छुटसमेत उनीहरूलाई छैन– प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले भने, “कांग्रेस र एमाले सच्चा लोकतन्त्रवादी भए निर्वाचनमा जान किन डराएका हुन् मलाई अचम्म लागेको छ, उनीहरू अझै चेत्दैनन् र निर्वाचनका लागि तयार हुँदैनन् भने उनीहरूलाई नत्थी लगाएर निर्वाचनमा ल्याइन्छ, निर्वाचनका लागि बाध्य बनाइन्छ।”
नेपालमा जनवादी क्रान्ति नयाँ तरिकाले सम्पन्न हुने क्रममा रहेको बताउँदै उनले यतिबेला परिवर्तन चाहने र परिवर्तन नचाहने शक्तिबीच टक्कर भइरहेको उल्लेख गरे।
सरकार राष्ट्रिय सहमतिको वातावरण बनाउन लागिपरेको बताउँदै उनले जनताको भावनालाई आत्मसात् गरेर सहमतिमा आउन विपक्षी दललाई आग्रह गरे। एमाओवादीका अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यतिबेला परिवर्तनकामी शक्ति र परिवर्तन नचाहने शक्तिबीच सङ्घर्ष भइरहेको बताउँदै सो सङ्घर्षमा परिवर्तनकामी शक्ति नै विजयी हुने बताए।
आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गरेको र पार्टीको सातौँ महाधिवेशनले त्यसका लागि आधारपत्र तयार पार्ने उनले बताए।
पार्टी अध्यक्ष दाहालको नेतृत्वमा पार्टी एकताबद्ध भएर जाने र नेपाली जनताको चाहनालाई पूरा गरेर छाड्ने उनको भनाइ थियो। अर्थमन्त्री वर्षमान पुनले नेपाली जनताको चाहना पूरा गर्न आफ्ना तर्फबाट विशेष तयारी गरिएको बताए। उनले एमाओवादीलाई साइजमा ल्याएर आफ्नो स्वार्थ पूर्ति गर्न सकिन्छ भनेर विपक्षी दल लागेको र उनीहरू कुनै पनि हालतमा सफल नहुने ठोकुवा गरे। रासस

Leave a Reply

Your email address will not be published.