एमाओवादी पर्सा अधिवेशनमा कुर्सी हानाहान

वीरगञ्ज- एमाओवादीको पर्सा जिल्ला सम्मेलनमा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद हुँदा ११ कुर्सी भाँचिएका छन्। वीरगञ्जस्थित नगरसभागृहको मञ्चबाट संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिमा छनौट हुनेको नाम भने लगत्तै त्यसमा असन्तुष्ट पक्षले मञ्चमा चढेर कुर्सी भाँच्दै तोडफोडमा उत्रिएका छन्। जिल्ला इन्चार्ज छत्रबहादुर श्रेष्ठ अनिलले आफ्ना आसेपासेलाई प्रतिनिधमा छनौट गरी त्यागी नेतालाई पछि पारेको भन्दै उनीहरु विरोधमा उत्रिएका थिए। असन्तुष्ट पक्षले विरोध जनाएपछि मञ्चमा बसिरहेका जिल्ला इन्चार्ज श्रेष्ठ, सहइन्चार्ज बाबुराम कौशिक सहितका नेताहरु भागेका थिए।

जिल्ला नेता बीगा चौरसिया, माओवादीका पूर्व सभासद इस्लाम हवारीले इन्चार्रज श्रेष्ठले आफ्ना आसेपासेलाई प्रतिनिधिमा छनौट गरी जनयुद्ध लडेर आएका त्यागी नेताहरुलाई पछि पारेको आरोप लगाएका छन्। मञ्चमा तोडफोड भएपछि अधिवेशनस्थल अहिले खाली भएको छ। ‘बिथोलिएको हैन हामी माथिल्लो तहमा कुराकानी गर्दैछौं’, पूर्व सचिवालय सदस्य सन्तोष श्रेष्ठले भने- ‘स्थगित मात्र भएको हो।’

यसअघि जिल्ला अधिवेशनले २५ महाधिवेशन प्रतिनिधि र ६ जना परिवेक्षक चयन गरेको जानकारी दिइएको थियो। सोही विषयलाई लिएर विवाद चर्केको थियो।

Leave a Reply

Your email address will not be published.