दस हजार मान्छे ल्याउन सक्दिन : गच्छदार

प्रकाश तिमल्सिना, काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टीले प्रतिबद्धता गरेअनुसार १० हजार सर्वसाधारण सभामा ल्याउन नसक्ने जानकारी दिएका छन्। सत्तापक्ष संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको नाममा बुधबार हुने आमसभामा गच्छदारले १० हजार सर्वसाधारण ल्याउन नसक्ने भन्दै पन्छिएको सहभागी स्रोतले बतायो। ‘केटाहरु (गणेश लामा)ले १० हजार मान्छे ल्याउने जिम्मा हाम्रो पार्टीका भनेका रहेछन्, तर हामीले ल्याउन नसक्ने भयौं,’ गच्छदारले बैठकमा भने, ‘म र महासचिव (जीतेन्द्र देव) दुवै ब्यस्त भएकाले त्यत्रो संख्यामा मानिस उतार्न नसक्ने भयौं।’ गठबन्धनको केही दिन अघिको बैठकमा केन्द्रीय सदस्य गणेश लामाले १० हजार मानिस आमसभामा उतार्ने प्रतिबद्धता जनाएका थिए। तर मंगलबारको बैठकमा अध्यक्ष गच्छदारले भने नसकिने जनाऊ दिएका हुन्।

सभामा माओवादीले विभिन्न जिल्लाबाट दुई सय बसमा सर्वसाधारण ल्याउँदैछ् भने ५० हजार मानिस खुलामञ्चमा उतार्ने जिम्मेवारी लिएको छ। उसले सभामा १५ लाख खर्च ब्योहोर्ने प्रतिबद्धता जनाइसकेको छ। सभामा ५० लाख बढी खर्च हुने विवरण एमाओवादीले गठबन्धनको बैठकमा पेस गर्दै आएको छ।

यता आमसभामा प्रतिपक्षलाई कुनै पनि गालीगलौज नगर्न संयोजक तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका छन्। ‘कसैलाई पनि गाली गलौज नगरौं, सभ्य भाषामा आ–आफ्ना धारणा राखौं,’ बैठकमा दाहालले भने। माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आधा–आधा घन्टा बोल्न समय दिने र अन्य साना १४ दललाई १ घन्टाको समय छुट्टयाइएको छ।
साना दलले पैसा तिरेनन्
साना १४ दलले सभाका लागि दिनुपर्ने भनिएको २५ हजार रकम कसैले पनि दिएका छैनन्। कतिपय साना दलको नेताले मञ्चमा नै उपस्थित नहुने जानकारी गठबन्धनको वैठकमा गराएका छन्।

Leave a Reply

Your email address will not be published.