वीरगन्ज- शरीर छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङ्गको दाग छ, वा हातखुट्टा झमझमाउँछन् भन्ने होस पुर्याउनु होला। यो कुष्ठ रोगको लक्षण पनि हुन सक्दछ। त्यसैले यस्तो लक्षण थाहा पाउने बित्तिकै नजिकको स्वास्थ्य संस्था वा छाला रोग विशेषज्ञ कहाँ गएर जाँच गराउन नबिर्सनु होला। छालामा घाउ हुनु कुष्ठको प्रारम्भिक बाहिरी सङ्केत हो, ६० औं विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साद्वारा यहाँ आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कुष्ठरोग निवारण कार्यक्रम व्यवस्थापक शम्भुप्रसाद यादवले भन्नुभयो, ‘यसले छाला, स्नाउ, हातखुट्टा र आँखामा स्थायी क्षति पुर्याउन सकिने भएकाले यसको लक्षण देखिने बित्तिकै उपचार गराई हाल्नुपर्दछ।”
यो रोग पूर्णरुपमा निको हुने रोग हो, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले भन्नुभयो, ‘कुष्ठरोगको पुष्टि भएपछि आम व्यक्तिमा यो रोग निको नहुने वा कुनै व्यक्ति त्यसले सङ्क्रमित हुने आशङ्काले त्रस्त हुनुहँुदैन। सुरुवाती अवस्थामा यसको उपचार सजिलै हुन्छ।”
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार, चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्सा जिल्लामा ९८ नयाँ कुष्ठरोगी फेला परेका छन् तीमध्ये ६४ जनामा सर्ने र ३४ जनामा नसर्ने प्रकृतिको कुष्ठरोग देखिएको छ। फेला परेका कुल कुष्ठरोगीमध्ये ११ महिला र शुन्य दशमलव आठ प्रतिशत बालबालिका छन्।
पर्साका ८२ गाविसमध्ये ४५ गाविसमा कुष्ठरोगीको सङ्ख्या शुन्य देखिएको छ भने पर्साको बिरुवागुठी, चोर्नी, लङ्डी र वीरगन्ज उपमहानगरपालिकामा एकभन्दा कम कुष्ठरोगी रहेको छ। त्यस्तै एकदेखि तीन जनासम्म कुष्ठरोगी भएको गाविसको सङ्ख्या १६ र तीनदेखि पाँच जना कुष्ठरोगी भएको गाविसको सङ्ख्या १३ वटा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
जिल्लाको निचुटा, प्रसौनीभाटा, पोखरिया, बैरियाविर्ता र बागेश्वरी गरी पाँच वटा गाविसमा कुष्ठरोगीको सङ्ख्या पाँच वा त्योभन्दा बढी रहेका छन्। पर्सा जिल्लामा प्रति दस हजारमा एक दशमलव पाँच जना र वीरगन्ज उपमहानगरपालिकामा शुन्य दशमलव ९८ जनामा कुष्ठरोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाल कुष्ठरोग निवारण (१० हजार जनसङ्ख्यामा एकभन्दा कम भएको) अवस्थामा रहेको छ तर निर्मूल भइसकेको छैन। दस हजार जनामा औसत एकजना वा एकजनाभन्दा थोरैमा कुष्ठरोग फेला परेको अवस्थालाई रोग निवारण भएको अवस्था मानिन्छ।
नेपालमा एकभन्दा बढी कुष्ठरोगी भएको जिल्लाको सङ्ख्या ५८ र एकभन्दा कम कुष्ठरोगी भएको जिल्ला १७ वटा रहेका छन्। अझै पनि मुलुकमा हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी फेला परिरहेको तथ्याङ्क छ।
कुष्ठरोगको ब्याक्टेरियाले छाला फुस्रो भएर नसामा असर गर्ने र बिरामीलाई कुनै दुःखाइको अनुभूति नहुने भएकाले अशिक्षित र गरिबमा धेरै वर्षसम्म यो रोगको पहिचान नभएको अवस्था फेला परेको कुष्ठरोग निवारण कार्यक्रम व्यवस्थापक शम्भुप्रसाद यादवको भनाइ छ। रासस