भारी हिमपातले जनजीवन कष्टकर

जुम्ला- कर्णाली अञ्चलका डोल्पा, हुम्ला, मुगु र जुम्ला जिल्लामा यतिबेला भारी हिमपात भएको छ। हिमपातले सबै जिल्लाको लेकदेखि बेंसीसम्म सेताम्य भएको छ। कालीकोट जिल्लाको माथिल्लो भेगमा मात्र हिउँ परेको छ भने तल्लो भेगमा पानी मात्र परेको छ। हिमपातले गर्दा स्थानीय जनताको दैनिक जीवनयापनमा कठिनाइ भएको छ। हिमपातले गर्दा सवारीसाधान तथा आवतजावत ठप्प भएको छ।

जिल्लाका तल्लो भागमा डेढ फिटसम्म हिउँ परेको छ भने माथिल्लो भागमा चार फिट परेको छ। अकस्मात हिजो राति सुरु भएको हिमपातले बिजुलीका तार चुडाल्ने, खम्बा ढाल्ने गरेको छ भने चिसो माइनस ८.५ डिग्रीसेल्सियस भएपछि टेलिफोन, फ्याक्स, ग्यास चुल्होले पनि काम गर्न छाडेपछि स्थानीय जनतालाई समस्या भएको छ।
सरकारी तथा गैरसरकारी कार्यालय राम्रोसँग सुचारु हुनसकेका छैनन्। सेवाग्राही पनि कतै भेटिएका छैनन्। तर हिमपात भएपछि भने स्थानीय किसानलाई अब बाली उत्पादनमा सुधार आउने भयो भन्नेमा खुसीको लहर छाएको छ।
यद्यपि वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले भने यति नै हिउँले मात्र बाली उत्पादनमा सहयोग नपुर्‍याउने र फेरि पनि हिउँ आउन सकेमा मात्र किसानको आशाअनुसार बाली उत्पादन हुनसक्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.