कुम्भमेलामा दश करोड तीर्थालुको अनुमान

नयाँ दिल्ली, एजेन्सी– आउँदो साता भारतीय राज्य उत्तर प्रदेशको इलाहाबादमा सोमबार विश्वको सबैभन्दा ठूलो धार्मिक मेला शुरु हँुदैछ। कुम्भमेलामा धार्मिक सम्प्रदायका गुरु र साधुसहित करिब १० करोड तीर्थयात्रु गंगा नदीको किनारामा भेला हुने अपेक्षा छ। इलाहाबादस्थित संगममा सोमबार आरम्भ हुने १२ वर्षे कुम्भमेला ५५ दिनसम्म चल्नेछ। मेलामा भारतभरका धार्मिक गुरु र साधुहरूले सहभागी हुन व्यापक तयारी गरेका छन्। मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिŒवको समेत उपस्थिति देखिनेछ। त्यहाँ लाखौँ हिन्दू र भारतीय सर्वसाधारण उपस्थित हुनेछन्।
कुम्भमेला हिन्दू पवित्र धार्मिक स्नानसँग सम्बन्धित छ। तीर्थयात्रीहरू यो मेलामा गंगामा स्नान गरे आफ्ना पाप पखालिने विश्वास गर्छन्। यसबीच लाखौँ तीर्थयात्री मेलामा सहभागी हुन इलाहाबाद आइपुगेका छन्। लाखौँ तीर्थयात्री भने आउने क्रममा यात्रारत रहेका छन्। उनीहरूले आफ्नालागि आवश्यक सामान र शिविरको व्यवस्था गरिरहेको बताइएको छ।
इलाहाबादका एक अधिकारी देवेश चतुर्वेदीले कुम्भमेलामा आउने सबैलाई नुहाउने अवसर सुनिश्चित गर्नु नै सबैभन्दा ठूलो चुनौती भएको बताए। सन् २००३ मा नासिकमा आयोजित कुम्भमेलामा भागदौड हुँदा ४५ को मृत्यु भएको थियो।
उत्तर प्रदेशको इलाहाबाद यमुना र गंगाको दोभानमा अवस्थित छ। यसअघि त्यहाँ सन् २००१ मा कुम्भमेला आयोजना भएको थियो। त्यसबेला त्यहाँ ११ करोड तीर्थयात्रीले सहभागी भएका थिए। त्यसबेला सौभाग्यवश कुनै पनि दुर्घटना भएन।
यस वर्ष आयोजकले तीर्थयात्रीलाई सकेसम्म स्वागत गर्ने तयारी गरेका छन्। आयोजकले दिनहुँ २० लाख तीर्थयात्री इलाहाबाद प्रवेश गर्ने अनुमान गरेका छन्। मेलामा सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ गरिएको छ। यसबीच आयोजकले ३५ हजार शौचालय, १४ वटा स्वास्थ्य केन्द्र, २२ हजार सडक बत्ती, एक सय ५० किलोमिटर अस्थायी मार्ग, १८ वटा पुलसहित नयाँ ढलको व्यवस्था गरेका छन्। चतुर्वेदीले यस वर्ष रणनीतिक क्षेत्रमा सर्किट क्यामरा जडान गरिएको उल्लेख गरे।
मेलामा यसपल्ट सात हजार बस र सात सय ५० रेलले तीन प्रमुख स्नान स्थलबाट तीर्थयात्री ओसारपसार गर्नेछन्। इलाहाबादस्थित गंगाको जल निकै प्रदूषित भएको बताइन्छ। धेरैले प्रदुषित गंगाजल पिउने छन् र आफ्ना इस्टमित्रलाई समेत पवित्र गंगाजलको रूपमा लगेर दिनेछन्।
प्रमुख स्नानको दिन सन् २०१३ जनवरी १४, २७, फेब्रुअरी १०, २५ र मार्च १० मा परेका छन्। सबैभन्दा मुख्य वसन्त पञ्चमीका दिन फेब्रुअरी १५ मा करिब दुई करोड तीर्थालु भक्तजनले मेलामा स्नान गर्ने अनुमान गरिएको छ।
हातमा त्रिशूल लिएका नांगा साधुहरूको ठूलो भीड स्नान गर्न एकैपटक गंगामा प्रवेश गरेको हेर्न सबै उत्सुक हुन्छन्। मेलामा प्लास्टिक झोला/थैलामाथि प्रतिबन्ध लगाइएको छ। तीर्थयात्रीलाई नुहाउँदा साबुनसमेत प्रयोग नगर्न भनिएको छ। यसैगरी नदीमा फूल, धुप र काठ नफ्याँक्न भनिएको छ।
मेलामा बेलायती कलाकार क्याथरिन जिटा–जोन्स, म्याडोना, पर्सी ब्रोस्नान, स्यारोन स्टोनसमेत आउने अनुमान छ। कुम्भमेला इलाहाबाद, नासिक, उज्जैन र हरिद्वारमध्ये एक स्थानमा लाग्ने गर्छ।

Leave a Reply

Your email address will not be published.