बदलिँदो माघी

मदन चौधरी- ‘माघी’ भन्ने बित्तिकै पहिले थारू समुदायले लाइ, तिलवा, सठौरा (एक प्रकारको लड्डु) सम्झन्थ्यो। नुहाएरमात्र लड्डु खान पाइने भएकाले उनीहरू सबेरै नुहाउन खोलामा पुग्थे। पुसको अन्तिम रात पकाएका ती लड्डु माघमा खाने भएकाले ‘पुसमा पकाएर माघमा खाने’ भन्ने प्रचलन पनि छ। समय बदलिएको छ। समयसँगै मानिसका लवाइखवाई फेरिएका छन्। घरमा मात्र मनाइने चाड सामूहिक रूपमा मनाउन थालिएको छ। ‘माघी महोत्सव’ को ट्रेन्डले पनि थारू समुदायका चाडहरू फेरिएको आभास दिन्छ।

नेपालमा बसोबास गर्ने थारू समुदायको रहनसहन, भाषाशैली तथा संस्कृतिमा विविधता छ। पूर्वका थारूले मनाउने धेरै चाड पश्चिमका थारूले मनाउँदैनन् भने पश्चिमका धेरै चाड पूर्वकाले मनाउँदैनन्। माघी पनि पूर्व र पश्चिममा फरक फरकरूपमा मनाइन्छ। थारु समुदायका पत्रकार कृष्णराज सर्वहारी भन्छन्, ‘माघीले विविधतामा रहेका थारू समुदायलाई एकीकृत गर्न मद्दत गरेको छ।’

सुदुरपश्चिममा पुसको अन्तिम दिन गाउँका अगुवालाई पाल्कीमा राखेर नदीमा लाने चलन थियो। उनीसँगै गाउँका सबै पुरुषहरू नदीमा पुग्थे र नदीमा सँगै नुहाउँथे। यसो गर्दा वर्षभरिको पाप नदीमा पखालिने परम्परागत भनाइ रहेको पत्रकार सर्वाहरीको कथन छ।
सर्वहारीका अनुसार नुहाएर गाउँका सबै घरमा पुगी आफूभन्दा ठूलासँग ढोग लिने र सानालाई ढोग दिने चलन छ। त्यसपछि गाउँका मानिसहरू ‘सखिये हो! माघीके पिली गुरी जाँर…’ गीत गाउँदै रमाइलो गर्ने गर्थे। माघीमा गाउने यो गीतले साथीहरूलाई ‘माघीको अवसरमा गुलियो जाँड खाऔं,’ भन्ने अर्थ दिन्छ।
यही गीत महोत्सवमा गाउन थालियो। नृत्य देखाउन थालियो। अहिले प्रायः नेपालीको मुखमा झुन्डिन पुगेको छ। सर्वहारी थप्छन्, ‘यसले थारू संस्कृतिको उजागर गरेको छ।’

२०५९ सालमा माघीलाई राष्ट्रिय चाडको मान्यता दिइएपछि थारु समुदायले महोत्सव मनाउन थालेको हो।

माघी महोत्सवले थारू समुदायको संस्कृति, रहनसहन र खानाका परिकारलाई प्रवर्द्धन गर्‍यो। यो पर्वमा हरेक घरमा पाक्ने ‘ढिकरी’ र ‘अन्दीको झोल’ खानेहरू प्रशस्तै देख्न पाइन्छ। ‘घोङी’ को स्वाद लिने अन्य समुदायका व्यक्ति पनि बढेका छन्। घोङी चाख्नकै लागि टुँडिखेलमा आयोजना हुने माघी महोत्सवमा पुग्ने धेरैको तयारी छ।

वर्षौंदेखि घोङी खाने धोको बोकेका राजधानीका प्रेम खड्काले त महोत्सवमा गएरै धीत मरुन्जेल चाख्ने योजना बनाएका छन्। ‘साथीहरूले घोङीको मीठो स्वादको बयान गरेपछि त,’ उनी थप्छन्, ‘यसपालि टुडिँखेलमा गएर चाख्छु–चाख्छु।’

तराईका तालतलैया तथा पोखरीमा पाइने घोङी लोपोन्मुख थारू परिकार हो। त्यसैले यो परिकार चाख्नकै लागि महोत्सवमा जानेहरूरु बढी हुन्छन्।
‘ढिकरी’ चामलको पिठोबाट बनाइन्छ। विभिन्न आकारमा बनाइने ढिकरीप्रति पछिल्लो पुस्ता लोभिएका छन्। सहरमै जन्मेर हुर्केकालाई त के घोङी, के ढिकरी! अझै पनि धेरै थारूका छोराछोरीलाई ढिकरीको स्वाद थाहा छैन। १२ वर्षीया आरोक्षा चौधरी ढिकरी खानकै लागि आमासँग झगडा गर्छिन्। राजधानीमै जन्मिएर हुर्केकी आरोक्षालाई ढिकरी र घोङीजस्ता परिकार खुवाउन आमा मेनुका यसपालि माघी महोत्सवमै जाने योजनामा छिन्।

माघी महोत्सवले थारू समुदायलाई एकीकृत मात्र गरेन। समुदायका प्रचलित गीत–संगीत, भेषभुषा तथा खानाका परिकारलाई समे राष्ट्रियकरण गरिदियो। थारू समुदायका मुखले मात्र चाखिने घोङी, ढिकरीलगायतका परिकार अधिकांश नेपालीभाषीले खान थाले।

माघी थारू समुदायको नयाँ वर्ष पनि हो। यही दिनबाट नीति–नियम बनाई लागु गर्ने थारू समुदाय वर्षभरिका राम्रा—नराम्रा कामको समीक्षा गर्छन्। नयाँ कामको जिम्मेवारी तोकिन्छ भने पश्चिमी जिल्लामा कमलरी राख्ने काम पनि यही दिनबाट सुरु हुन्छ।

सरकारले २०५७ सालमा मुक्त कमलरी घोषणा गरे पनि पूर्णरूपमा हटिसकेको छैन। यसका लागि सरकारले वर्षेनि करोडौंको बजेट बिनियोजन गर्छ। बिनियोजित रकम सम्बन्धित ठाउँमा नपुगेपछि कमलरी प्रथा उन्मूलन हुन नसकेको १८ वर्ष कमलरी बसेका पूर्व सभासद् शान्ता चौधरीले बताइन्। ‘दलका नेता, ठूला व्यापारीहरू सबैकहाँ कमलरी छन्,’ उनी भन्छिन्, ‘सरकारले ती सबैको घरमा छापा मारोस्, कमलरी प्रथा आफैं निर्मूल हुन्छ। ‘सरकारले कमलरी प्रथा पूर्णरूपमा हटाएमात्र म धन्य हुने थिएँ।’ १८ वर्षको पीडा सुनाउँदै चौधरीले सुनाइन्।
असहाय नानीहरूको साथी नामक संस्था सञ्चालन गर्दै आएका राजु धमलाका अनुसार अहिले पनि करिब हजारको संख्यामा कमलरी छन्।

थारू कल्याणकारिणी सभाले थारूहरू रहेका तराईका २४ जिल्लामा माघी महोत्सव गर्दै आएको छ। सभाका केन्द्रीय सदस्य हृदयनारायण चौधरी कोण–कोण मिलेर माघीको लड्डुको ढिक्का बनेजस्तै समाज पनि एक ढिक्का बन्नुपर्ने बताउँछन्। ‘माघीको लड्डुले हामी सबै मिलेर बस्नुपर्छ भन्ने सन्देश दिन्छ,’ उनले थपे, ‘के थारू के पहाडी, हामी सबै त्यही लड्डुजस्तो एकीकृत भएर बसेमात्र माघी सबैको हो भन्ने आभास मिल्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *