थारू माघीको सांस्कृतिक पक्ष

कृष्णराज सर्वहारी– थारूहरूको नयाँ बर्ष माघे संक्रान्ति आएको छ। यस अवसरमा सखियै हो, माघीक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको छ। माघीलाई ठाँउ विशेष अनुसार माघ, माघी डेवानी आदि नामले पनि मनाइन्छ। खासगरी दाङदेखि पश्चिम थरुहटमा माघीको रौनकता बढी छाउँछ। २०५९ सालमा सरकारले थारू बिशेषको चाड भनी सार्वजनिक बिदा दिएपछि मध्य तथा पुर्वी क्षेत्रका थारूहरूले पनि माघीलाई विशेष महत्वका साथ मनाउन थालेका छन्। 

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिईन्छ। माघी थारूहरूको एक चाड मात्रै नभएर यही अवसरमा गाउँको अगुवा बरघरदेखि, रक्षक चौकीदारसम्म चुनिने भएकोले यसको आफ्नै महत्व छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात पुष मसान्तको अन्तिम दिन घर घरमा सुंगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ। पुष मसान्तमा घर घरमा सुंगुरको मासु, माछा, घुंघी, ढिक्री (पिठोको एक परिकार),लगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपीन गरिन्छ। माघे संक्रान्तिको दिन विहान सबैजना नजिकैको खोला नदीमा नुहाउन जान्छन्, जसलाई ‘माघ लहान’ भनिन्छ। नुहाईसकेपछि तिलको आगो ताप्छन्। माघीको दिन स्नान गरी तिलको आगो आगो ताप्नाले वर्ष भरीको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ। त्यसपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ। माघको दोश्रो दिन खिचरहवामा खिचडी बनाई खाने चलन छ। धार्मिक विश्वासका अतिरिक्त माघी पर्वको विविध महत्व छ।
गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो साताभित्रै बैठक बसेर सामूहिक रुपमा गत बर्षको काम कार्यवाहीवारे छलफल गरिन्छ। बर्षको एकपटक बस्ने गाउँको सो बृहत भेलालाई ‘भुरा खेल (ख्याला)’ भनिन्छ। बैठक गाउँको अगुवाको घरमा बस्छ। बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठलगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ। आगामी वर्षको लागि सोही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने बिषयमा छलफल हुन्छ। उक्त बैठकले कुलापानी चौधरी, चौकिदारदेखि फलामको काम गर्ने लोहार सम्मको चयन गर्छ। यस आलेखमा भने माघीको सांस्कृतिक पक्ष बारेमा चर्चा गरिएको छ।
माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहारस्वरुप निसराउ (कोशेली) दिने चलन छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरुप चेलीबेटीहरूलाई नगद तथा लुगालत्ता पनि उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्, नआएकालाई दिन जान्छन्।
माघीको करीब दुई साता नाचगानका साथ रमाईलो गर्ने प्रचलन छ। माघीमा गाइने गीतलाई धमार भनिन्छ। त्यसो त माघीमा नाचिने बिशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघीको ढिक्री, अनदीको जाँर, सुंगुरको मासु, केटाकेटीलाई नयाँ लुगा, मघौटा नाचको धुनले थारू गाउँ माघै महिनाभरी उमंगले भरिएको हुन्छ भन्दा फरक परोइन। माघीमा बुढापाकाहरूले गुनगुनाउने धमारके आफ्नै गहन अर्थ छ।
सखियै हो माघक पिली गुरी जाँर, सखियै हो।
बाबा कि सगरवा, मुरीया लहान गैनु हाँ, बाबा कि सगरवा
सखियै हो, टोपीया छुटल पानी घाट, सखियै हो।
माघ १ गते एकाबिहानै मन मिल्ने समूह कहीं त बाजागाजासहित स्थानीय नदीमा नुहाउन जान्छन्। नुहाउनेहरू आफ्ना पुर्खाको यादमा यति हराउँछन् कि पानीघाटमा आफ्नो टोपीसमेत बिर्सिएर आउने गरेको भाव माथिको गीतमा पाइन्छ। त्यसो त युवती–युवती बीचको ईख पनि मघौटा गीतमा भेटिन्छ।
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
बंगालीनके बेटियक टुरबु मैं टंग्री, बंगालीनके बेटियक
सखियै हो, मोर पिहा डेहलाँ डुब्राई, सखियै हो।
बैसले छोप्दै गएपछि मायाप्रीतिको डोरीमा को बाँधिदैन र? जसरी आकर्षक युवतीले युवाका दिल हर्छन्, त्यसैगरी आकर्षक युवाको पदचापमा युवतीहरूको पनि ताँती लाग्छ। यस गीतमा बंगालीको बेटी अर्थात् श्यामश्वेत वर्णकी युवती बठिन्याले आफ्नो प्रेमीलाई मोहनी लगाएर दुब्लो ख्याउटे बनाइदिएको आरोप छ। त्यो युवतीको खुट्टा नभाँची म कहाँ छाडुँला र भन्ने आक्रोश पनि छ। तर जुन युवतीलाई त्यस्तो आरोप आई लाग्छ, उनी पनि गीतैमार्फत यसरी जवाफ फर्काउँछिन्–
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
नाही मै बलैनु, नाही मैं चलैनुँ, नाही मै बलैनु,
सखियै हो, नाहीं हाँठ मरनु मैं शान, सखियै हो।
अर्थात् न त मैले तिम्रो प्रेमीलाई बोलाएँ, न त हातले नै कुनै ईशारा गरें। तै पनि ममाथि यति गम्भिर आरोप किन नि? यसरी आफूले मन पराएकोले हेर्न छाडेपछि, घरकाले पनि वर खोज्ने छाँटकाँट नदेखाएपछि छोरीले बाबासँग बिहेको बिलौना पोख्छिन्–
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
सेन्दुरा ले मंग्नु बाबा, सेन्दुरा नै ले डेल्या, सेन्दुरा ले मंग्नु बाबा,
सखियै हो, सेन्दुरक कारण बाबा छोरी डेबुँ देशवा टोहार, सखियै हो,
अर्थात् नाचको धुनमा झुमेकी छोरीले भन्छे– ए मेरा बाबा, हजुरको नजर कता छ कुन्नि? उमेर पुगेपछि हामीलाई पनि त चुरा, टीका, सिन्दुर लगाउन मन लाग्दो हो। यहाँ सिन्दुर बिहेके संकेतको रुपमा आएको देखिन्छ। मैले मुखै फोरेर सिन्दुर ल्याउन अर्थात् बिहेको कुरा गरें, तर हजूरले वास्ता गर्नुभएन। अब यही कारण हजुरको देश (गाउँ) छाडेर गइ दिउँला भन्ने चेतावनी पनि दिएको छ गीतले। उता आफ्नो जवान छोरीलाई बाबाले गीतैमार्फत सम्झाउँछन्–
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
असौंक साल ढियरी सेन्दुरा मंहग भैल हाँ, असौंक साल ढियरी
सखियै हो, आगु साल डेहबुँ सेन्दुरा, बेसार, सखियै हो,
बिहेभोजको खर्च जुटाउन कुन चाहिं अभिभावकलाई सजिलो होला र? बिना तयारी, बिना तामाझामको बिहेभोज दुनिया हँसाइ नहोस् भन्नेमा उनीहरू सचेत हुनु स्वाभाविकै हो। यस बर्ष मँहगी बढ्यो, सिन्दुरको दाम पनि बढ्यो। त्यसैले, तिम्रो बिहेको बन्दोबस्त गर्न सकिएन। ल, अर्को बर्ष भने फरक नपर्ला।
यसरी छोरी–बाबा बीचको मार्मिक गीत कमै लोकसाहित्यमा पाइएला। देवर भाउजुको ठट्यौली प्रसंगको गीतमा भोजपुरी निकै चर्चामा छ, तर थारू मघौटा नाचको गीतमा पनि यसको राम्रो छनक पाइन्छ।
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
अंगना बहारट टुटली बह्रनियाँ, अंगना बहारट
सखियै हो, लचकल डिउरा मोर करहीयाँ, सखियै हो,
अर्थात् ए मेरा देवर, तिम्रो घरको कूचो यति खिइए सक्यो कि धेरै निहुरेर आँगन बह्रार्दा मेरो कम्मर दुख्ने भइसक्यो, लौन केही त गर। तर कम बोल्न रुचाउने देवर मौन हुन्छ। भाउजुले नै औषधी सिकाउँछिन्–
सखियै हो, माघक पिली गुरी जाँर, सखियै हो।
लडियक किनार डिउरा पुरैनक पटिया, लडिया किनार डिउरा,
सखियै हो, सेंकी डारो डिउरा मोर करहीया, सखियै हो,
अर्थात् नदी किनारमा पुरैन (कमल)को पात छ, त्यही ल्याएर मेरो कम्मर सेक्देउ न। यसरी युगौदेखि थारू जनजीवनके यथार्थ चित्रण झल्काउने यस्ता लोकगीतका रचनाकार कुन थारू गुर्बाबा (सृष्टिकर्ता) ले गरे होलान्? यिनको खोजवीन, ब्याख्या, बिश्लेषण गर्नु जरुरी छ (गीत स्रोतः अशोक थारू)।
ksarbahari@gmail.com

One thought on “थारू माघीको सांस्कृतिक पक्ष

  1. The article has been successful to figure out the maghia celebration by tharu communities. This is the good attempt. Mr Krishna Raj Jee thank you very much and hope further more articles regarding tharus in upcoming days.

Leave a Reply

Your email address will not be published.