युएईतिर नेपाली नारीको लर्को

डी. विनोद- नेपाली महिला कामदारहरू अहिले खाडी राष्ट्रतिर आकर्षित भएका छन्। कुवेतमा वैधानिक बाटो खुलेपछि ठूलो संख्यामा महिलाहरू त्यसतर्फ पुगेका थिए। अब साउदी अरेबिया, मलेसिया, कतार र खासगरी युएईमा नेपाली महिलाको चाप बढ्न थालेको छ। ‘अन्य खाडी राष्ट्रभन्दा दुबईमा स्वतन्त्रता छ र पैसा पनि राम्रो छ भन्ने सुनेर जान लागेको हो। केयरगिभर र अचेल सपिङ मलमा पनि कामको अवसर पाइने भएर प्रयास गरिरहेकी छु,’ कैलालीकी कल्पना अर्यालले भनिन्। 
सर्लाहीकी विन्दु सापकोटा पनि दुबई ताकिरहेकी छिन्। भन्छिन्, ‘सबै देशमा जान उत्तिकै खर्च लाग्छ। तर, अन्यत्रभन्दा सुरक्षा र नेपालीको पहुँच पनि राम्रो भएकाले म दुबई जान चाहन्छु।’ उनले राहदानी बनाइसकेकी छन्। वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा परामर्श गरेर उनी रोजगारीमा जाने तयारीमा छिन्। विभागको मूलगेटमै भेटिएकी सापकोटा थप्छिन्, ‘कसरी जाँदा राम्रो हुन्छ भनेर बुझ्न आएकी हुँ? अन्य कानुनी प्रक्रियाबारे पनि जानकारी लिन आएकी हुँ।’
हरेक दिन वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहेको छ। पछिल्ला केही महिनामा खाडी र त्यसमा पनि युएई जाने नेपाली महिला कामदारको संख्या बढेको छ। आर्थिक वर्ष ०६९/७० को तथ्यांकअनुसार दुई हजार छ सय १५ महिला युएई पुगेका छन्। यसअघि महिलाको संख्या उल्लेख्य थिएन। गएको मंसिर महिनामा मात्र झन्डै पाँच सय महिला युएईका लागि उडेका छन्। ‘सुरक्षित र गतिलो गन्तव्य भएका कारण पनि युएईमा महिलाको आकर्षण बढेको हो,’ बोर्ड अधिकारी अशोक गौतमले भने, ‘सुरक्षित रोजगारीको विषयमा जानकारी राखेर जाने महिलाहरूको संख्या पनि बढिरहेको छ।’
हुन त खाडी राष्ट्रमा रोजगारीका लागि महिलालाई न्यूनतम उमेर हद पनि तोकिएको छ। महिलाविरुद्ध हुने यौनलगायत विभिन्न हिंसाका कारण सरकारले कम्तीमा ३० वर्ष उमेर पुगेपछिमात्र महिलालाई वैदेशिक रोजगारीमा जाने अनुमति प्रदान गर्ने नियम बनाएको छ। तै पनि खाडी राष्ट्रमा घरेलु कामदारका लागि महिला जाने क्रम बढिरहेको छ। त्यसमा पनि हाल युएई गतिलो गन्तव्य भएको छ।
युएई रोजगारीको गन्तव्यमात्र बनेको छैन। नेपाली विद्यार्थीका लागि शैक्षिक गन्तव्यका रूपमा पनि विकास हुँदै गइरहेको छ। एसियामा युरोपको झल्को दिने र कानुन पनि खुकुलो हुँदै गएका कारण युएईतिर नेपालीको आकर्षण बढेको स्वाभाविक मान्न थालिएको छ। वैदेशिक रोजगारी तथा शिक्षाबारे परामर्शदाताका रूपमा काम गरिरहेका काठमाडौँका सुधीर अधिकारी भन्छन्, ‘कम लगानी गरेर राम्रो आम्दानी हुने सुरक्षित गन्तव्यमा को जान चाहँदैन र?’
शुक्रबारबाट साभार

Leave a Reply

Your email address will not be published.