“धेरै वर्ष पहिले यो नेपाल देश
टुक्राटुक्रा राज्यमा बाँडिएको थियो,
पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण
स–साना प्रान्तमा छरिएको थियो
हाम्रा योद्धा राजा पृथ्वीनारायण शाहले
यो देश नेपाल एकतामा जोडे
हामी सबै नेपाली हौं, हामी सबै एक हौं
भन्ने सन्देश छाडे पृथ्वीनारायण शाहले।”
विद्यालयका स–साना बालबालिकाले गुनगुनाउने, वाचन गर्ने र असाध्यै मन पराउने यो सरल कविताले पृथ्वीनारायण शाहको योगदान र राष्ट्रभावको गहिरो सन्देश दिएको छ।
मुलुकमा विकसित पछिल्ला केही राजनीतिक घटनाक्रम सँगसँगै पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गर्ने तथा मेटाउने प्रयास भएता पनि उनको योगदान र दिव्योपदेशले अझ सार्थकता पाउँदै गएको छ। राजनीतिक परिवर्तनका क्रममा उहाँको एकीकरण अभियानको टीकाटिप्पणी हुनुका साथै सालिकसमेत तोडफोड भए।
आन्दोलनका क्रममा उहाँलाई केही मानिसले पृथ्वीनारायण शाहले एकीकरण गरेको नभई साम्राज्यवाद विस्तार गरेको आरोप पनि लगाए। नुवाकोट आक्रमणबाट एकीकरण अभियान प्रारम्भ गरेका उनले पूर्व र पश्चिमका बाइसे–चौबिसे राज्यलाई नेपालमा गाभ्न सफल भएका थिए।
उनले खासगरी जीवनको उत्तरार्धमा आफ्ना भाइभारदारलाई भेला गराएर व्यक्त गरेका भनाइ अहिले पनि त्यतिकै सान्दर्भिक बन्दै गएको छ। उनले व्यक्त गरेका ती अभिव्यक्तिलाई दिव्योपदेश भन्ने गरिन्छ। त्यसमा मुलुकले खासगरी राजनीति, सामाजिक, आर्थिक र कूटनीतिक पक्षमा अँगाल्नुपर्ने नीति र अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ।
पृथ्वीनारायण शाह गोरखाका राजा भएपनि नेपालको एकीकरणपछि उनले मुलुकलाई भौगोलिक, सामाजिक र साँस्कृतिक दृष्टिले समान रुपमा अघि बढाउन काठमाडौँलाई नै सिङ्गो मुलुकको राजधानी बनाए, गोरखालाई बनाएनन्। यस क्रममा उनले काठमाडौँ उपत्यकाको साँस्कृतिक विविधतालाई कायम राख्न परम्परादेखि पूजित जीवित देवी कुमारीको यथावत सम्मान र प्रचलित विभिन्न जात्रालाई उच्च सम्मान गर्दै अघि बढने नीति अवलम्बन गरेका थिए।
तत्कालीन अवस्थामा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर सिङ्गो सार्वभौम अखण्डता कायम रहेको नेपाल निर्माणको जग बसाल्न पृथ्वीनारायण सफल भए भने उनको अभियानलाई पूर्णता दिन बहादुर शाहजस्ता उनका सन्ततीले ठूलो योगदान गरे। चारैतर्फ अङ्ग्रेज साम्राज्यको दबदबा रहेको अवस्थामा नेपालको एकीकरण गर्नु सामान्य काम थिएन।
विसं १७७९ पुस २७ गते जन्मिएका नेपाल राष्ट्रका यिनै सपुतको सम्झनामा प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँदै आएकोमा पछिल्लो राजनीतिक परिवर्तनसँगसँगै केही वर्षदेखि सरकारी स्तरमा यो दिवस मनाउन छाडिएको छ। यद्यपि पृथ्वी जयन्ती र एकता दिवस मनाउनुपर्छ भन्ने ठूलो आवाज उठिरहेको छ। “पृथ्वीनारायण शाहलाई भुल्दा राजनीतिक र संवैधनिक दृष्टिले समेत देश अन्धकारमय बन्दै गएको” भनाइ आइरहेका छन्।
राजनीतिक परिवर्तनका पक्षमा महत्वपूर्ण योगदान दिएका नागरिक समाजका अगुवा तथा थुप्रै राजनीतिक दलले एकता दिवसलाई बिर्सनु सरकारको भूल भएको टिप्पणी गरेका छन्। उनीहरुले राजनीतिक स्थिरता भएपछि मुलुक एकीकरणका अभियन्ताको उचित कदर र सम्मान हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।
यसबारे पूर्व सभामुख दमननाथ ढुङ्गाना भन्नुहुन्छ– “राजतन्त्रले नेपालमा पछिल्लो समय प्रजातन्त्र नमानेको परिप्रेक्ष्यलाई लिएर पृथ्वीनारायण शाहको योगदानलाई नजरअन्दाज गर्ने लहर चलाइएको छ, त्यो इतिहास हेर्ने दृष्ट्रकोणमा नै त्रुटि हो”।
तत्कालीन समय र परिस्थितिको आवश्यकताका आधारमा उनको मूल्याङ्कन गरिनुपर्नेमा जोड दिँदै उहाँले पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेमा प्रगतिशील भइन्छ भन्ने नकारात्मक सोच केही मानिसले फैलाउन खोज्नु गलत भएको बताउनुभयो।
”केही समयमा गणतन्त्रको गर्मी घट्ने र मुलुकमा जवाफदेही सरकार स्थापित भएपछि एकता दिवस स्वतः स्थापित हुने तथा पृथ्वीनारायणको योगदान कसैले मेट्न नसक्ने” विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ भन्नुहुन्छ–“पृथ्वीनारायण शाहले एउटा इतिहासको महत्वपूर्ण कालखण्डमा नेपालको समग्र एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउनुभयो, उहाँलाई म सम्मान गर्दछु, एउटा सच्चा नेपालीले उहाँको योगदानलाई कहिल्यै बिर्सने छैन।”
यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ”पृथ्वीनारायण शाहको साम्राज्यवादी नीति थियो भन्दै उनलाई लुटेराको सङ्ज्ञा दिने र क्रिस्चियनको दबाबमा परी जातीय र क्षेत्रीय राज्यको नारा खडा गरेर उनको योगदानलाई उल्टाउने, मुलुकलाई विखण्डनतिर लैजानेजस्ता गलत काम अहिले भइरहेको” टिप्पणी गर्नुहुन्छ।
राज्य एकीकरणका अभियन्ताको नाम मेटाउन खोज्नु, सालिक भत्काउनु, उनको योगदानबारे गलत व्याख्या गर्नु राष्ट्रियताका नाममा खोक्रो ढवाङ् फुक्नुबाहेक केही नभएको उहाँको प्रतिक्रिया थियो।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले जत्तिको योगदान हालसम्म कसैले नगरेको भनी हालै एक सार्वजनिक कार्यक्रममा उहाँप्रति सम्मान व्यक्त गर्नुभएको थियो।
नेकपा मालेका महासचिव सिपि मैनालीले भन्नुभयो– “सरकारले राष्ट्रिय एकता दिवस मनाउने कार्यलाई खारेज गर्नु गलत थियो, देशमा विद्यमान क्षेत्रीय, जातीय, लैङ्गिक विभेद् हटाएर राष्ट्रियतालाई बलियो बनाउने आधार तय गर्नसके मात्र उनीप्रति सम्मान हुनेछ।”
पूर्व शिक्षामन्त्री एवम् अग्रज साहित्यकार मोदनाथ प्रश्रितले ”ठूला राजनीतिक दलले जातीय भोट पाइन्छ भनेर पृथ्वीनारायण शाहलाई गलत रुपमा चित्रण गर्नखोज्ने कामले मिलेर बसेका नेपालीको मनलाई विभाजन गर्ने र राष्ट्रियतालाई कमजोर तुल्याएर विखण्डनतर्फ उन्मुख गराउन खोजेको छ” भन्नुभयो।
विश्वमा राज्य एकीकरण गर्ने अभियन्तामध्ये पृथ्वीनारायण शाह राष्ट्रवादी, बुद्धिमानी र दूरदर्शी भएको चर्चा गर्दै उहाँले नेपाललाई उपनिवेश हुनबाट पृथ्वीनारायणले नै जोगाएको बताउनुभयो।
एनेकपा (माओवादी)का नेता राम कार्की तत्कालीन ”अवस्थामा पृथ्वीनारायणको आवश्यकता थियो, उनी युगले खडा गरेका व्यक्ति हुन, त्यसबखत विश्वमा असाध्यै थोरै राज्य थिए, उनले नेपाललाई उपनिवेश हुनबाट जोगाए, त्यसैले पनि स्वाभाविक रुपमा उनी सम्मानयोग्य व्यक्ति हुन्” भन्ने तर्क गर्नुहुन्छ।
यसैगरी उद्योगमन्त्री अनिलकुमार झाले पृथ्वीनारायणलाई आधुनिक नेपालको मूल अभियन्ताका रुपमा चित्रण गर्दै अहिलेको नेपालको चारकिल्लाभित्र रहे–बसेकाले उहाँलाई त्यही रुपमा लिनुपर्छ भन्नुभयो।
त्रिभुवन विश्वविद्यालय, राजनीतिक शास्त्र सङ्कायका प्राध्यापक जीतेन्द्रध्वज खाँडले पृथ्वीनारायण यस्ता राजा हुन् जसले जीवनभर एकीकरणको लडाईंमा तरवार बोकेर आफैँ सामेल भए, मुलुकका लागि त्याग गरे, त्यस्ता व्यक्तिको योगदानलाई विदेशीको लहडमा लागेर मानमर्दन गर्ने काम कुनै पनि नेपालीले गर्न सुहाउँदैन भन्नुभयो।
नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक दिनेशराज पन्त तत्कालीन ५२ राज्य–रजौटालाई एकीकरण गरेर पृथ्वीनारायणले सार्वभौम नेपाल निर्माण गर्नुभएकाले नै आज हामी नेपाली हाँै भनेर शीर ठड्याएर बाँच्न पाएका छौँ भन्नुहुन्छ।
उता नेकपा (माओवादी)का नेता मातृका यादव भने पृथ्वीनारायणले भौगोलिक रुपमा राज्य विस्तार गरेपनि त्यो जनतालाई सुख दिने नियतले नभई आफ्नो गोरखा राज्य बढाउने सामान्तवाद सोचबाट मात्र भएको प्रतिक्रिया दिनुहुन्छ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य लीला न्याईंच्यार्इं आधुनिक नेपालको इतिहास पढ्दा पृथ्वीनारायणलाई छुटाएर पढ्न नसकिने ऐतिहासिक पात्रका रुपमा देखापरेको भए पनि उनी आफ्नो शक्ति बढाउनमात्र राज्य विस्तारको अभियानमा लागेका हुन् भन्ने प्रतिक्रिया दिनुहुन्छ।
सामाजिक अभियन्ता सूर्य गुरुङले ”नेपाललाई एक बनाउने, नेपाल भनेर विश्व समुदायमा चिनाउनेे पृथ्वीनारायण शाहलाई बिर्सनु भनेको आफूले आफँैलाई बिर्सनु हो, त्यसकारण उहाँको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्छ, यो नै हाम्रो चिनारी” भएको बताउनुभयो।
प्रा.डा.जगमान गुरुङ भन्नुहुन्छ–“जातीयताभन्दा राष्ट्र र राष्ट्रियता ठूलो हुने र जातीय पहिचानसहितको बलियो राष्ट्रिय भावना नै अहिलेको आवश्यकता हो।”
इतिहासविद् डा.रमेश ढुङ्गेल पञ्चायत, बहुदल तथा लोकतन्त्रका कुनै पनि शासनमा राष्ट्रनिर्माताको उचित सम्मान नभएको भन्दै दुखः व्यक्त गर्नुहुन्छ।
संविधानविद् डा.भीमार्जुन आचार्य पृथ्वीनारायणले गरेको नेपाल एकीकरणलाई अवैध भन्ने आवाजले नै देशलाई विखण्डनतर्फ उन्मुख गराइरहेको तर्क राख्नुहुन्छ।
पृथ्वीनारायणका दिव्योपदेश अहिले पनि त्यति नै समसामयिक र मर्मस्पर्शी भएकाले भारतको गुहाटी विश्वविद्यालयलेे दिव्योपदेशलाई पाठ्यक्रममा समेत समावेश गरेको छ। तर नेपालमा भने अहिले उक्त दिव्योपदेशलाई बेवास्ता गरिएको देखिन्छ। वास्तवमा नेपालको भौगोलिक स्थिति, सामाजिक एवम् आर्थिक यथार्थतालाई दृष्ट्रिगत गर्ने हो भने उनको दिव्योपदेश नै नेपालको दीर्घकालीन राष्ट्रिय नीतिको आधारशीला हो। उनले ‘सबै जातको साझा फूलबारी’ भनेर नेपालको समाजलाई जसरी चित्रण गरे, त्यो वास्तवमा अकाट्य चित्रण हो।
पृथ्वीनारायणको सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले रच्नुभएको ‘राष्ट्रनिर्माता’ खण्डकाव्यको एक अंशमात्र भएपनि यहाँ सम्झनु सान्दर्भिक हुनेछ : –
‘… विछिन्न विछिन्न हुने प्रवृत्ति सहन्न भाइ म त एकरत्ति
विशाल नेपाल रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु…‘ रासस