माघ महिनाभित्र पनि सहमति हुँदैन : खाँड

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले माघ महिना नसकिँदासम्म दलहरुबीच कुनै सहमति हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीको महाधिवेशनअघि पद छाड्न सक्ने सम्भावना क्षीण भइरहेकाले राष्ट्रिय सहमतीय सरकारका लागि कुनै सहमति हुन नसक्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे।

धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै नेता खाँडले प्रधानमन्त्रीबाट हटेपछि माघमा हुन लागेको पार्टीको महाधिवेशनमा आफ्नो प्रभाव कमजोर हुने भयले प्रधानमन्त्रीले पद छाड्न नमानेको बताए।
आफू प्रधानमन्त्री भएकै अवस्थामा महाधिवेशन होस् भन्ने प्रधानमन्त्रीले चाहना राखेेको हुँदा राष्ट्रपतिले जतिपटक म्याद थपे सहमति नहुने दाबी गरे। नेता खाँडले प्रधानमन्त्रीले पद नछाड्दासम्म कुनै हालतमा सहमति नबन्ने पनि दाबी गरे।
धौलागिरि सहकारीका अध्यक्ष रामकृष्ण खाँडको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सदस्य प्रेमनारायण खरेल, क्षेत्र नम्बर ४ का सभापति हरिबहादुर आचार्य क्षेत्रीलगायतले राज्यले सहकारी संस्थाहरुलाई लगाउँदै आएको कर छुट गर्न माग गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.