फोरम लोकतान्त्रिकका नेतालाई पनि प्रधानमन्त्री बन्ने हक छ : गच्छदार

इटहरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले महिलामाथि भएका अपराधमा संलग्न जो कोही भए पनि त्यस्तालाई नेपालको प्रचलित कानुनअनुसार कडा सजाय दिन सरकार तयार रहेको बताएका छन्। मधेसी कारखाना श्रमिक फोरम लोकतान्त्रिक सङ्घले सुनसरीको दुहवीमा आयोजना गरेको दुई दिने तालिमको समापनका अवसरमा मन्त्री गच्छदारले माहिलाविरुद्ध पछिल्लो समयमा ज्यादै संवेदनशील र दुःखद घटनाहरु भएको भन्दै यस्ता अपराधमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई कडा निर्देशन दिइसकिएको जानकारी दिए। 
मन्त्री गच्छदारले वर्तमान राजनीतिक अस्थिरता र बेमेलको अवस्था अब चाँडै अन्त्य हुने दाबी गर्दै आफूले नेतृत्व गरेको पार्टीका नेतालाई पनि देशको प्रधानमन्त्री बन्न पाउने हक छ भने।
प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रस्ताव अघि सारिरहेको अवस्थामा उपप्रधानमन्त्री गच्छदारले भने स्वतन्त्र व्यक्ति नभएर राजनीतिक दलकै स्वच्छ र निष्कलङ्क व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने धारणा राखे।
राजनीतिक दलबाहेकका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफ्नो पार्टी र मधेसी मोर्चालाई मान्य नहुने उनको भनाइ थियो। रासस

Leave a Reply

Your email address will not be published.