राष्ट्रपतिले भने- २५ गतेभन्दा पर नजानुस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि सहमति कायम गर्न फेरि पाँच दिनको म्याद थपेका छन्। नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई गएको मङ्सिर ८ गते पहिलोपटक आह्‍वान गरेका थिए। 
राष्ट्रपतिले सो आह्‍वान गरेकामा राजनीतिक दलहरुको मागबमोजिम राष्ट्रपतिले पछिल्लोपटक प्रदान गर्नुभएको समयसीमा हिजो सकिएको थियो। राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि राजनीतिक दलहरुले सहमतिका लागि थप भएको समयलाई निरन्तरता दिँदै थप समय माग गरेको जनाउँदै यही पुस २५ गते बुधबारका दिनसम्मका लागि समय प्रदान गरिएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ। रासस

Leave a Reply

Your email address will not be published.