महासेनानी पक्राउप्रति सरकारको गम्भीर आपत्ति

काठमाडौं- नेपाल सरकारले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयमा विरोधपत्र पठाएको छ। अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत बिनाआधार नेपाल सरकारलाई सूचनासम्म नदिई महासेनानी लामालाई पक्राउ गरेकामा सरकारले बेलायत सरकारलाई विरोधपत्र (प्रोटेस्ट नोट) पठाएको छ। 
महासेनानी पक्राउबारे स्पष्टीकरण दिन परराष्ट्र मन्त्रालय डाकिएका नेपालका लागि बेलायतका राजदूत जोन टकनटले आफ्नो देशको कानुनअनुसार लामा पक्राउ परेका र त्यससम्बन्धमा विस्तृत विवरण प्राप्त नभएको जानकारी निमित्त परराष्ट्र सचिव अर्जुनबहादुर थापालाई दिएको परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए।
परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले महासेनानी लामालाई तत्काल रिहा गर्नं बेलायत सरकारलाई अनुरोध गर्दै निमित्त सचिव थापाले राजदूत टकनटलाई प्रोटेस्ट नोट हस्तान्तरण गरेको जानकारी दिए। “प्रचलित मान्यता, सिद्धान्त र आधारबिना नै नियन्त्रणमा लिइएका नेपाली सेनाका जिम्मेवार अधिकृतलाई तत्काल मुक्त गरी कार्यक्षेत्रमा पठाउने पहल गर्न तथा प्रोटेस्ट नोट बेलायत सरकारलाई बुझाउन लण्डनस्थित नेपाली राजदूतलाई निर्देशन दिइएको छ”, उनले भने।
मानवअधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल सधैं प्रतिबद्ध रहेको तथा यातना, हिंसालगायत मानवअधिकार हननका घटनाको स्वतन्त्र र न्यायिक जाँचबुझ गरी दोषीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने दृढता मन्त्री श्रेष्ठले व्यक्त गरे।
नेपाल सरकार यातनासम्बन्धी क्षतिपूर्ति कानुनका माध्यमद्वारा पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाही गर्न लागिपरेको बताउँदै उनले महासेनानी लामाले कुनै गैरकानुनी काम गरेको भए सैनिक ऐनअनुसार कारबाही हुने वास्तविकतालाई बिर्सेर पक्राउ गर्नु दुःखद कार्य भएको टिप्पणी गरे।
शान्ति प्रक्रियालाई पूर्णता दिँदै राष्ट्रिय सहमति गरी संविधान लेखनको कार्य सम्पन्न गर्न नेपाल लागिपरिरहेका बेला बेलायत सरकारबाट हठात् भएको यस्तो कार्यले नेपालमा शान्ति कायम गर्न चाहने सबै नेपाली तथा शुभेच्छुकहरुको भावनामा चोट पुगेको मन्त्री श्रेष्ठको कथन थियो।
नेपालमा सशस्त्र द्वन्द्वकालमा महासेनानी लामाले पक्राउ परेका व्यक्तिलाई यातना दिएको आरोपमा बेलायतको पूर्वी ससेक्सबाट त्यहाँको महानगरीय प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो। दक्षिण सुडानस्थित राष्ट्रसङ्घीय ‘मिशन’मा खटिएका लामा निजी कामको सिलसिलामा बेलायत पुगेका हुन्। रासस

Leave a Reply

Your email address will not be published.