एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं- नेकपा (एमाले) को आज सम्पन्न स्थायी समितिको बैठकले प्रमुख राजनीतिक दलकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्ने र प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको पूर्वनिर्णयलाई कार्यान्वयन गर्न सक्रियतापूर्वक पहलकदमी लिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले एमाओवादीले ल्याएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई सत्ता लम्ब्याउने खेलको संज्ञा दिँदै तर सहमतिको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन जोड दिएको छ। यद्यपि एमालेभित्र स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्ने भनी सुझाव दिनुपर्ने आवाज पनि उठेको थियो।
बैठकपछि एमालेका सचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा एमालेले काँग्रेसका उम्मेदवार पार्टी सभापति सुशील कोइरालालाई समर्थन गर्ने निर्णय भएको जनाइएको छ।
यसैगरी बैठकले केही समय यता देशका विभिन्न भागमा भयावह रुपमा भएका महिलाविरुद्धका हिंसाका घटनाप्रति निन्दा, भर्त्सना र विरोध गर्दै अपराधीलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई राहत तथा उद्धारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ।
यसै सन्दर्भमा बैठकले यही पुस २५ गते एमाले जिल्ला कमिटीको आयोजना, पार्टीका घोषित जनसङ्गठन तथा पेसागत संगठनको सक्रिय भूमिका र जनताको सहभागितामा देशका ७५ जिल्ला सदरमुकाममा महिला हिंसाविरुद्ध विरोध प्रदर्शन तथा विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले ‘कामचलाउ सरकार’का ‘स्वेच्छाचारी, जनविरोधी तथा राष्ट्रविरोधी क्रियाकलापको विरुद्ध तथा लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा’ राष्ट्रव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गर्ने र त्यसका लागि व्यवस्थित प्रस्ताव तयार गरी यही पुस २५ गते बस्ने केन्द्रीय कमिटीको बैठकसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.