लुम्बिनीको गुरुयोजना पचहत्तर प्रतिशत पूरा

काठमाडौं- लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरुपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले आज यहाँ पत्रकारसँग कुरा गर्दै भौतिक संरचना निर्माण सकिएपछि लुम्बिनीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी आउने विदेशी पर्यटक सङ्ख्या तीन गुणाले वृद्धि भएको बताउँदै भ्रमण वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको महत्व अझ उजागर भएको र आन्तरिक पर्यटक पनि वृद्धि भएको स्पष्ट पारे। 
लुम्बिनीलाई विश्वकै शान्ति र आध्यात्मिक केन्द्रका रुपमा विकास र विस्तार गर्न अझै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारको खाँचो रहेको बताउँदै उपाध्यक्ष शेर्पाले सन् २०१५ देखि २०२५ सम्मलाई लुम्बिनी दशकका रुपमा मनाउन आफूले एक कार्यपत्र तयार पार्न लागेको जानकारी गराए। उनले चीन, थाइल्यान्ड, श्रीलङ्का, भियतनामलगायत देशका बौद्धमार्गीको लुम्बिनी भ्रमण गर्ने आकाङ्क्षा बढ्दै गएको बताउँदै बेलाबखत हवाइजहाज चार्टर गरेर विदेशी आउने गरेको हुँदा त्यसक्षेत्रमा होमस्टेको विकास हुन सक्ने उल्लेख गरे।
स्वयक्म्भू, बौद्धनाथ र लुम्बिनीलाई प्याकेजमै बुद्धधर्मको पर्यटकीयस्थलका रुपमा विकास र विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै उपाध्यक्ष शेर्पाले यसका लागि दूरदृष्टि र दृढसङ्कल्प हुनुपर्ने धारणा राखे।
कोषका सदस्यसचिव अजितमान तामाङले नेपालमा करिब चार हजार पाँच सय बौद्ध गुम्बा रहेको र सात सय वर्ष पुराना गुम्बा आफूले देखेको बताउँदै विश्वभरका बौद्धमार्गीलाई देशभित्र ल्याउन सकिए पर्यटन विकासको ठूलो सम्भाव्यता रहेको बताए।
सरकारले लुम्बिनी भ्रमण वर्षका लागि रु १३ करोड बजेट छुट्टयाए पनि त्यो यथेष्ट नभएको कोषले जनाएको छ। आगामी माघ २गते लुम्बिनीमा भ्रमण वर्षको समापन गरिने कोषले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.