राजधानीमा नयाँ वर्षको रौनक

कृष्णराज गौतम, काठमाडौं- अङ्गे्रजी पात्रोअनुसारको नयाँ वर्षलाई स्वागत गर्ने क्रममा राजधानीका विभिन्न स्थानमा विशेषगरी युवापुस्ताले विविध कार्यक्रम गरी खुसियाली मनाएका छन्। अङ्गे्रजी नयाँ वर्ष सन् २०१३ को स्वागतका लागि सहरीक्षेत्रमा विभिन्न उमेर समूहका युवावर्गले विविध साङ्गीतिक कार्यक्रमका साथै नाचगान तथा खानपिन गर्दै रमाइलो गरे। खुलापन र सहरकेन्द्रित बसोबासका कारण बर्सेनि यस्ता उल्लास र रौनक बढ्दै जान थालेका छन्। नयाँ वर्षको स्वागतका लागि काठमाडौँको ठमेल, दरबारमार्ग, सुन्धारा, नयाँसडक, पुतलीसडक, दरबारस्क्वायरलगायत पर्यटकीय क्षेत्रमा उत्तिकै तामझामका साथ भइरहेका कार्यक्रम निकै रोचक रह्यो।
विशेषगरी युवा समुदायले नयाँ वर्षलगायत अन्य विशेष पर्वको आगमनका लागि रातभर जाग्राम बसेर साथीभाइसँगै रमाउने परम्परा अहिले काठमाडौँ उपत्याकामा बढ्दै गइरहेको देखिन्छ। यसबाट समाज स्वतन्त्र र खुला हुँदै गएको अनुमान लगाउन सकिन्छ। ‘न्यु इयर इभ’ अर्थात् नयाँ वर्षको अघिल्लो साँझ राजधानीका तारे होटलदेखि सामान्य रेस्टुरेन्टसम्ममा विविध सांस्कृतिक समूहले साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरेका थिए। नयाँ वर्षका उपलक्ष्यमा विभिन्न स्थानमा रहेका रेस्टुरेन्टमा गएर रमाइलो गर्ने परम्परा युवा जमातमा पछिल्लो वर्ष ह्वात्तै बढेको छ। कोही नयाँ वर्षका उपलक्ष्यमा आयोजना हुने विभिन्न साङ्गीतिक कार्यक्रम मस्त हुने गर्छन् भने त कोही रेस्टुरेन्टमा खानपिनमा रमाउँछन्।
कालीमाटी स्थायी घर हुनुभएका वीरेन्द्रदेव भण्डारीले नयाँ वर्षको अवसरमा रमाइलो गर्ने उद्देश्यले दरबारमार्ग क्षेत्रमा साथीभाइसँग गए राति घुमफिर गरे। उनले भने– “सधैँ घरमा एउटै वातावरणमा रहँदा उकुसमुकुसको अनुभव हुने भएकाले पनि नयाँ वर्षलाई नजिकबाट अनुभव गर्न घुम्न निस्केको छु।”
वातावरणका क्षेत्रमा क्रियाशील ‘पिलिजर नेपाल संस्था’का अध्यक्ष दीपेन्द्र चौधरीले अन्य दिनमा घर बस्न भ्याइनभ्याई हुने भएकाले विदाको अवसर र नयाँ वर्षको साइत पारेर घुम्न आएको बताउनुभयो। “यस्ता पर्वमा खुला सडकमा नाचगान तथा खानपिनमा रमाइलो गर्दा हुने फोहर उत्पादनले वातावरणमा प्रभाव पार्ने हुँदा त्यसको व्यवस्थापनलाई पनि युवा वर्गले ध्यान दिन जरुरी छ,” उनले भने।
ठमेल, नयाँसडक, सुन्धारा, दरबारमार्ग, पुतलीसडकलगायत क्षेत्रमा रहेका विभिन्न रेस्टुरेन्ट र क्याफे नयाँ वर्षको उपलक्ष्यमा भरिभराउ देखिन्थे। यस्ता पर्वको अवसरमा आर्थिक रुपमा पहँुच पुग्ने वर्ग समुदायका विभिन्न मानिस काठमाडौँ उपत्यकाबाट केही परका रमणीय स्थान नगरकोट, धुलिखेल, कुरिनटार, पोखरालगायत क्षेत्रमा समेत नयाँ वर्षको रमाइलो मनाउन जाने गर्छन्। यसले आन्तरिक पर्यटनमा अभिबृद्धि गर्न अवसर प्रदान गर्छ।
अहिलेसम्मका नयाँ वर्षमा घर परिवारमा नै बसेर सपरिवार रमाइलो गर्दै आएका सीतापाइला निवासी समिर गौतमले आफ्नो कार्यालयका साथीभाइको अनुरोधमा पर्यटकीय क्षेत्र ठमेलमा पुगेको र नयाँ वर्षको तामझाममा सहभागी भएको बताए। उनले भने– “यसपटक साथीभाइको अनुरोधलाई स्विकारेपछि घरपरिवारमा बसेर रमाइलो गर्न नपाइएको भए पनि नयाँवर्षको स्वागतमा विभिन्न संस्कृतिका मानिससँग रातिको वातावरण बुझ्न पाएँ, रमाइलो भएको छ।”
ठमेलस्थित कुरा थाइ रेस्टुरेन्टका सञ्चालक शेखर अधिकारीले पछिल्लो समयमा राजधानीमा हुने साङ्गीतिक माहोलमा रम्न र क्याफे तथा रेस्टुरेन्टमा सहभागी हुने युवा जमातमा निकै उत्साह देखिएको बताउनुभयो। उनले भने– “नयाँ वर्षको सन्दर्भले गर्दा बिहानैदेखि ग्राहकको चाप बढेर विभिन्न खानेकुराको अर्डर भएकाले पनि राम्रो कारोबार भएको छ।”
विशेष गरी इसाई समुदायसँग सम्बन्धित इस्वी संवत्मा अन्य समुदायले पनि उत्तिकै महत्व दिएर खुसियाली साट्नलाई विविध समुदायबीचको सांस्कृतिक सद्भाव र एकता अभिवृद्धिका अवसरका रुपमा लिनु पर्छ। अहिले नेपालमा तीन लाख ७० हजार इसाई धर्मावलम्बी रहेको तथ्याङ्क राष्ट्रिय जनगणना आयोगले सार्वजनिक गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.