बाबुराम सरकारलाई निरन्तरता दिने सत्तारुढको निर्णय

काठमाडौं- सत्तारुढ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विघटित संविधानसभाबाट निर्वाचित भएको र संविधानअनुसार वैधानिक रहेको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्नुपर्ने निर्णय गरेको हो। 
बैठकपछि गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार आजको बैठकले राजनीतिक निकासका लागि तीनवटा विकल्प अगाडि सारेको छ। उनका अनुसार ती विकल्पमा वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्नुपर्ने, त्यसो हुन नसके गठबन्धनभित्रैबाट प्रधानमन्त्री चयन गर्ने र तेस्रो विकल्पमा विपक्षी दलहरू यही पुस २५ गतेभित्र सहमतिमा नआए संविधानसभाको पुनः स्थापना गरेर अगाडि बढ्ने रहेको छ।
विघटित संविधान सभाले पारित गरेका विषयहरूमा एकमुष्ट सहमति जनाएर आगामी वैशाखमा संविधानसभाको निर्वाचनका लागि तयार भए विपक्षीलाई पनि सरकारको नेतृत्व दिन सकिने अन्यथा कुनै पनि हालतमा सरकारको नेतृत्व दिन नसकिने निर्णय गरिएको प्रवक्ता सिंहले जानकारी दिए।
‘विपक्षी दलहरू सहमति गरेर देशलाई निकास दिनुको साटो प्रधानमन्त्रीको कुर्सीमात्रै खोजेको र अरु विषयहरूलाई टुङ्ग्याउन नलागेको स्थितिमा सरकारको नेतृत्व दिन सकिँदैन भन्नेमा गठबन्धन निष्कर्षमा पुगेको छ”, प्रवक्ता सिंहले भन्ने।
गठबन्धनले विपक्षी दललाई सहमतिमा आउन गरेको आग्रहलाई कमजोरीका रुपमा लिएको भन्दै जिम्मेवारीबोधका साथ राष्ट्रलाई निकास दिन यही सरकारमा सहभागी हुन आग्रह गरेको छ।

गठबन्धनमा विवाद देखिएको भनेर गरिएको प्रचारमा समेत कुनै तुक नरहेको जानकारी दिँदै प्रवक्ता सिंहले गठबन्धनका अध्यक्ष एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले समग्र राजनीतिक परिस्थितिको विषयमा बैठकलाई जानकारी गराउनुभएको बताए।
गठबन्धनलाई देशव्यापी बनाउने र समग्र राजनीतिक विषयमा एउटै धारणा बनाएर जाने विषयमा समेत कुराकानी भएको बताइएको छ। प्रवक्ता सिंहले सरकार मात्रै ताक्ने र अरु विषयमा सहमति नै गर्न नचाहने विपक्षीको हठ नै सहमतिको बाधकको रुपमा रहेको निष्कर्ष निकालिएको बताए।
यही पुस २५ गतेभित्र निर्वाचन आयोगका पदाधिकारीहरूको म्याद सकिने भएकाले त्यहीबीचमा सहमति हुनसके आगामी वैशाखमा निर्वाचन हुनसक्ने र सहमति हुन नसके संविधानसभाको पुनःस्थापना नै उत्तम विकल्प हुनेमा गठबन्धन सहमत भएको समेत उनले जानकारी दिए।
यही पुस १० गते एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले तय गरेको कार्यसूचिमाथि नै आज छलफल भएको प्रवक्ता सिंहको भनाइ थियो। बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले पछिल्ला घटनाक्रमबारे जानकारी समेत गराउनुभएको थियो। रासस

Leave a Reply

Your email address will not be published.