मन्त्रिपरिषद् निर्णय

काठमाडौं- सरकारले गाविस अनुदान खर्चबाट मिलाउने गरी गाविस सचिवलाई प्रोत्साहन भत्तास्वरुप थप मासिक रु एक हजार ५ सय दिने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले सञ्चार मन्त्रीको प्रेस सल्लाहकारमा भक्तपुरका शिव अधिकारीलाई नियुक्त गर्ने, नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षमा चार वर्षका लागि नेपालगन्जका सीताराम अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए।

भारतीय प्रधानसेनापतिको निमन्त्रणमा पुस अन्तिम साता भारत भ्रमणमा जान लाग्नुभएका प्रधानसेनापति गौरवशमशेर राणाको भ्रमणलाई स्वीकृति दिने, न्याय सेवा तेस्रो संशोधन २०६९ लाई स्वीकृति दिने, गणतन्त्रको भावना र मर्मअनुसार १६ वटा नियमावली संशोधन गर्ने, गत असार २१ गते रौतहटमा सवारी आवागमन अवरोध गर्दा प्रहरी कारबाहीमा मारिएका रमोद साहको आश्रित परिवारलाई रु पाँच लाख उपलब्ध गराउने  निर्णय बैठकले गरेको छ।

सहिद विशालकुमार विद्यालय महोत्तरीलाई रु १० लाख अनुदान दिने, सन् २०१३ सम्मका लागि कायम रहेको नेपाल–भारत पारवहन सन्धि सन् २०२० सम्मका लागि हस्ताक्षर गर्न वाणिज्य मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.