कपिलवस्तुमा माघी महोत्‍सव हुने

बुटवल- कपिलवस्तुमा क्रियाशिल थारु समुदायका विभिन्न संघसंस्थाको आयोजनामा माघि महोत्सव हुने भएको छ। थारु समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने यो पर्व माघ १ देखि ३ गतेसम्म कपिलवस्तुको हथौसामा सञ्चालन हुनेछ। महोत्‍सवलाई सफलताका साथ मनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिरे थारुको संयोजकत्वमा ३१ सदस्यीय गठन गरिएको छ। पूर्वसभासद संघप्रसाद थारु तथा आदिवासी जनजाति समन्वय समितिका ध्रुव चन्द्र थारुको उपस्थितिमा गठन गरिएको समितिको सहसंयोजकमा गणेश प्रसाद थारु छन्।

लोप हुन लागेको थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा थारु समुदायका भेषभुषा, खानपान, सांस्कृतिक नृत्य प्रस्तुत गरिने आयोजकले बताएको छ।
नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको थारु समुदायका युवा पिढीलाई लक्षित गरी चार जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी र दाङबाट थारु गायन प्रतियोगिता गरिने महोत्सवका प्रचार प्रसार समितिका संयोजक श्रीनिवास चौधरीले जानकारी दिए।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अफेक्षा गरेका छन्।
रुपन्देहीको मोतिपुर गाविसमा पनि गाविस स्तरीय थारु कल्याणकारिणी सभाको आयोजनामा माघी सांस्कृतिक कार्यक्रम हुने भएको छ। सभाका गाउँ कमिटी अध्यक्ष श्यामलाल थारुको अध्यक्षतामा हालै बसेको बैठकले यही पुस २८ गते सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो। कार्यक्रम सम्पन्न गर्न छविलाल थारुको संयोजकत्वमा समिति समेत गठन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.