‘हरियो’ले ल्याएको सुदिन

सजना- माटोमा सुन फलाउन सकिन्छ। चाहिन्छ त केवल पसिना, इमानदारी र लगनशीलता। बर्खा याममा बाहेक अरू समय मरुभूमितुल्य हुने नवलपरासीस्थित राकाचुली, चितवनको गैरीबारी र पदमपुर गाविसका खेतबारी यतिखेर हराभरा भएका छन्। हरियो तरकारीले गाउँलेको जीवनस्तर उकासेको छ। स्थानीय बासिन्दा तरकारी खेतीमा लागेपछि गाउँको रूप फेरिएको हो। पशुपालनमा आकर्षित गाउँलेहरू मौरी, सुँगुर र बाख्राका रेखदेखमा पनि व्यस्त छन् हिजोआज।

सँगैका साथी धमाधम अरबतिर लागे पनि चितवन, पदमपुरस्थित नयाँ बस्तीका २७ वर्षीय डबल घलानलाई आफ्नै गाउँ प्यारो छ। कारण हो– तरकारी खेती। उनले १३ धुर जमिनमा गोलभेँडा, मुला, काउलीलगायत सागसब्जी फलाएका छन्। तरकारी बेचेर दुई महिनामा करिब नौ हजार रुपैयाँ कमाएका उनले यही पेशाले ऋण तिरे। तीनटी छोरीलाई पढाउन र घर खर्च धान्नसमेत पुगेको उनी बताउँछन्। ‘मलाई तरकारी खेती गर्न पहिल्यैदेखि रहर थियो,’ उनले भने, ‘कुनै बेला त जर्किनमा पानी ओसारेर पनि खेती गरियो।’ जर्मन सहयोग संस्था (जिआइजेड)ले खेतबारीमै पानी पुर्‍याउने व्यवस्था मिलाइदिएपछि उनको जोस निकै बढेको छ। ‘उहाँहरूले तकारी खेती गर्न तालिम पनि दिनुभयो,’ उनले भने, ‘तालिमभन्दा पानीको बढी खाँचो छ हामीलाई।’

नवलपरासीस्थित राकाचुली गाविसका ५६ घरधुरी भने तरकारी खेतीसँगै पशुपालनमा पनि आकर्षित भएका छन्। मगर जातिको बाहुल्य रहेको सो गाउँमा सँुगुर र बाख्रापालन मौलाएको छ। गाउँलेलाई सँगुरको ब्याड, बोका र खसी उपलब्ध गराएको जिआइजेडका कर्मचारी दत्तबहादुर रावलले बताए। पदमपुरका बासिन्दाले भने मौरीपालन पनि गर्दै आएका छन्।
राकाचुलीस्थित बिर्खेटाँडीको मुहार पनि तरकारी खेतीले फेरिदिएको छ। ‘तरकारी संकलन केन्द्र’ खोलिएको छ त्यहाँ। ‘हामीले फलाएको तरकारी यही केन्द्रमा जम्मा गर्छौं,’ स्थानीय युवा कृषक पूर्णबहादुर सारुमगरले भने, ‘ट्रयाक्टर र साइकलमा हालेर नजिकैको जुटपानी बजारमा लगेर बेच्छौँ।’ सारुले तरुल, बन्दाकोभी, लौका, गोलभेँडा आदि बचेर नौ महिनामा १८–१९ हजार रुपैयाँ कमाएका छन्। आफ्नो गाउँमा पानीको हाहाकार भएकाले जिआइजेडको सहयोग आफूहरूलाई निकै उपयोगी भएको सारुले बताए। ‘सरकारलाई हाम्रो वास्तै छैन,’ उनले भने, ‘नेताहरू भाषण गर्दा म्वाइँ खाउँलाझैँ गर्छन् तर व्यवहार भने राक्षसको जस्तो गर्छन्।’ सोही गाउँका शिवबहादुर बिक पाँच वर्षअघि मलेसिया उडेका थिए। ‘फोक्सोमा घाउको दाग देखिएपछि यतै फर्काइदिए,’ दुई महिनामै स्वदेश फर्किनुको कारण खुलाउँदै थिए उनी, ‘डेढ लाख रुपैयाँ ऋण थियो। त्यत्रो पैसा कहाँबाट ल्याउनु भनेर पिर परिहेको थियो।’ गाउँका किसानलाई कृषि तालिम दिन भनी गाउँ पसेको संस्थाले आफ्नै माटोमा गरिखान सकिन्छ भन्ने पाठ सिकाएको उनी बताउँछन्। पूर्णले बारीमा गोलभँेडा, बन्दाकोभी, काउली, मुला र बोडी लगाएका छन्। महिनामा पन्ध्र हजार रुपैयाँभन्दा बढी आम्दानी हुने उनी बताउँछन्।

विशेषगरी माओवादी शिविर र शिविरसँगै जोडिएका गाउँबस्तीमा विकासका कार्यक्रम गर्न लागिपरेको जिआइजेडले खानेपानीको व्यवस्था तथा ट्वाइलेट निर्माण गर्ने गरेको छ। संस्थाले कृषि तालिम पनि दिने गर्छ। पशुपालनका लागि सहयोग गर्दै आइरहेको संस्थाले शान्तिका लागि सहयोग कार्यक्रम पनि गर्ने गरेको छ। गएको बिहीवार संस्थाको अग्रसरतामा चितवनको टाँडीमा आयोजित एक कार्यक्रममा स्थानीय स्कुल र क्याम्पसका विद्यार्थीलाई भेला पारी शान्तिको कामना गर्दै मैनबत्ती र्‍याली गरिएको थियो।

झन्डै एक दशक माओवादी सेनामा लागेका रग्दा–६, जाजरकोट स्थायी घर भएका हरिलाल डिसीको दिनचर्या करेसाबारीमा बितिरहेको छ अचेल। झ्याल्टुङडाँडा डिभिजनमा ब्रिगेड सहकमान्डर रहिसकेका उनले शिविरभित्रैकी भान्चारी डिसीसँग घरजम गरेका छन्। उनीहरू अहिले राकाचुलीको माटोमा नंग्रा खियाइरहेका छन्। ‘सानामा लडाइँमा गइयो,’ उनले भने, ‘अहिले करेसाबारीमा रमाइरहेका छौँ।’

शुक्रबार साभार

Leave a Reply

Your email address will not be published.