अरबको बालुवामा नेपाली पसिना

चन्द्र काफ्ले- प्राकृतिक रूपमा विश्वमै सुन्दर मुलुक मानिएको नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता भएको देश हो। यही विविधता नै यसको समृद्धि हो। तर, कहिल्यै पनि नटुंगिने राजनीतिक संकटले यहाँका नागरिकलाई दुःखी र निराश बनाएको छ। देशको राजनीति कहिल्यै स्थिर नभएकाले युवा वर्ग निराश र हतास छ। बेरोजगारी नेपालको राष्ट्रिय बिडम्बना भएको छ। हाम्रो प्राकृतिक स्रोतको सदुपयोग हुनै पाएन। उद्योग र कलकारखानाको न्यून उपस्थितिले रोजगारीका अवसरहरू असाध्यै सीमित भए। नेपालको युवाशक्ति कामको खोजीमा विदेशिन बाध्य भयो।

एक तथ्यांक अनुसार हाल दिनहुँ एक हजारभन्दा बढी नेपाली युवा देश छोडिरहेका छन्। यो देशको लागि दुर्भाग्यपूर्ण र कहालीलाग्दो अवस्था हो। राष्ट्र बनाउने सोच र पाखुरामा शक्ति भएका युवा यसरी पलायन भएपछि राष्ट्रको भविष्य कस्तो होला? सजिलै अनुमान गर्न सकिन्छ। युवाहरूको कहालीलाग्दो यो पलायनबारे कुनै निकाय या बौद्धिक समुदायले गम्भीरतापूर्वक बहस गरेको पाइँदैन।
हाम्रो जस्तो अल्पविकसित मुलुकका अदक्ष युवा विदेशमा गएर काम गर्न त्यति सहज छैन। दिनरात कठोर परिश्रम गर्नुपर्ने बाध्यता र बिरानो मुलुकका कानुन तथा चालचलन थाहा नहुँदा बेहोर्नुपर्ने असुविधाका कारण विदेशको जीवन असाध्यै कष्टकर हुन्छ। भएभरको जायजेथा बेचेर विदेश पुगेका युवा रुँदै घर फर्किएका छन्। दलालहरुको ठगी र मालिकको प्रताडना खप्न नसकेर कतिपय युवाले विदेशमै आत्महत्याको बाटो रोजेका समाचार हामी दिनदिनै पढिरहेका हुन्छौँ। यसरी विदेशमा अकाल मृत्यु हुने युवाको परिवारले कति शोक बेहोर्नुपर्छ, कति पीडा सहनुपर्छ, त्यसको हिसाब लगाउन सकिन्न।
मुलुकमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, कुशासन र अराजकता निर्मूल नपारेसम्म युवाशक्तिको समुचित सदुपयोग हुन सक्दैन। युवा वर्गको निराशा नहटाएसम्म देशले प्रगति गर्न सक्दैन। ठग र लुटाहा नेताका कारण युवाले आफ्नै परिवारस“ग बसेर सानो व्यवसाय गर्ने अवसर पनि पाएका छैनन्। दश वर्ष लामो सशस्त्र द्वन्द्वको सुरुआतसँगै ठूलो युवाशक्ति पलायन भयो र त्यो क्रम अहिलेसम्म रोकिएको छैन।
यो देशमा केही व्यक्ति असाध्य धनी छन्। गरिब झन् गरिब बनाइ“दै छन्। वर्तमान परिप्रेक्ष्यमा ग्रामीण क्षेेत्र रोजगारीको हिसाबले मात्र होइन, अन्य हिसाबले पनि बस्न लायक छैन।
इलाम, मोरङ, झापा, धादिङ वा नुवाकोटका केही युवाले गाई, कुखुरा र बाख्रापालनबाट गुजारा चलाइरहेका छन्। हामीलाई यस्ता केही युवाले गरेका प्रगतिका खबरले हर्षित बनाउँछन्।
करिब १० वर्ष खाडी मुलुकको मरुभूमिमा उँट चराएका मोरङ पथरीका इन्द्रबहादुर विकले त्यहा“बाट एक सुको ल्याउन सकेनन्। उल्टै निराश भएर फर्किए। बरु घरमै आएर कुखुरापालन गरी महिनाको ४०–५० हजार रुपैयाँ कमाउन थालेका छन्। विदेशिने युवालाई देशमै रोजगारीको व्यवस्था गर्न नसके देशको भविष्य दुर्घटित हुनेछ।

शुक्रबार साभार

Leave a Reply

Your email address will not be published.