थरुहट तराई पार्टी नेपालसहित दस वटा दल दर्ता

काठमाडौं- निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन्। आयोगका अनुसार यसरी दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी छन्। त्यसैगरी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थरुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी र नेपाल नौलो जनवादी पार्टीले पनि नयाँ राजनीतिक दलको मान्यता पाएका छन्।
नेपालको अन्तरिम संविधानबमोजिम राजनीतिक दल दर्ताका लागि ती दलले आयोगमा निवेदन दिएका थिए। नयाँ राजनीतिक दलहरूको कार्यकारी समिति, विधान र झन्डालाई प्रमाणित गरिदिने, राजनीतिक दल दर्ता किताबमा खडा गरी सो किताबमा चढाउने र दल दर्ता भएको व्यहोराको सूचना नेपाल राजपत्रमा प्रकाशित गरी नयाँ दललाई त्यसको सूचना दिने निर्णय भएको आयोगले जनाएको छ।
आयोगले त्यससम्बन्धी निर्णय गत मङ्गलबार गरेको प्रवक्ता अनिलकुमार ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.