नेताहरु छलफलमा व्यस्त, साँझसम्म सहमति हुने अनुमान

काठमाडौं- राजनीतिक सहमति जुटाउने विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ। एमाओवादीका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा आज साँझसम्म राजनीतिक दलहरुबीच सहमति जुटाउने विषयमा कुराकानी भएको बताइएको छ।

राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमति जुटाउनका लागि आजसम्मको समयसीमा दिनुभएको सन्दर्भमा आजै सहमति जुटाउने विषयमा कुराकानी भएको हो। छलफलमा राजनीतिक सङ्कटको समाधानका लागि आजै साँझ प्रमुख दलहरुको बैठक बस्ने र सोही बैठकबाट सहमति कायम गरिने विषयमा कुराकानी भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।
पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबीच सहमतिको वातावरण बन्दै गएको र प्रमुख दलका शीर्ष नेताहरुको अनौपचारिक छलफलले विश्वासको वातावरण बनाएको टिप्पणी भइरहेको बेला पछिल्लो छलफल भएको हो।
छलफलमा राष्ट्रिय सहमतिको सरकार, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुनको व्यवस्था, विघटित संविधानसभाले पारित गरेका विषयहरुको स्वामित्व ग्रहण, संवैधानिक निकायहरुमा नियुक्ति, सत्य निरुपण आयोगको गठनलगायतका विषय नै केन्द्रित रहेको बताइएको छ।
छलफलमा आज दलहरुबीच भएको सहमतिलाई लिपिबद्ध गर्न सकिएन भने के गर्ने र राष्ट्रपतिलाई पुनः समय थप्न लगाउने वा अरु कुनै उपाय खोज्ने भन्ने विषयमा पनि कुराकानी भएको बुझिइएको छ। रासस

Leave a Reply

Your email address will not be published.