उपरथि नेतृत्वमा महानिर्देशनालय बनाउने निर्णय

काठमाडौं-माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठकले एक उपरथीको नेतृत्वमा राष्ट्रिय विकास, वन सुरक्षा तथा विपत् व्यवस्थापन महानिर्देशनालय बनाउने निर्णय गरेको छ। उपरथि नेतृत्वको महानिर्देशनालयमा ४ हजार ७१ रहनेछन्। समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली सेनाका उपरथीको नेतृत्वमा चार हजार ७१ सङ्ख्याको महानिर्देशनालय बनाउने निर्णय गरेको सरकारका मुख्य सचिव लीलामणी पौडेलले जानकारी दिए। उनका अनुसार महानिर्देशनालयको नेतृत्व उपरथीले गर्नेछ। उसको मातहतमा चार सहायक रथी रहने छन्।

बैठकले एक हजार ४६० माओवादी लडाकुमा अन्य सुरक्षा निकायबाट दुई हजार ७११ जना थप गरी कुल चार हजार १७१ जनाको महानिर्देशनालय बनाउने निर्णय गरेको हो।
समितिले विशेष समितिको म्याद दुई महिना थप गर्नाका साथै समितिको सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा महानिर्देशनालय गठनका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको पनि सचिव पौडेलले जानकारी दिए।
यस्तै बैठकले छनोटमा परी नेपाली सेनाको तालिम लिएका पूर्व माओवादी लडाकुलाई पुनः स्वेच्छिक अवकाशको मौका दिने निर्णय गरेको छ। समितिले स्वेच्छिक अवकाश रोजेर पनि रकम लिन नआएका व्यक्तिलाई ३५ र ७० दिने सूचना जारी गरेर रकम लिन आउन आग्रहसमेत गर्ने निर्णय गरेको छ।
समायोजन रोजी भर्ना र छनोट परीक्षा उत्तीर्ण गरेर नेपाली सेनाको तालिममा सहभागी भएका पूर्व लडाकुले विशेष समिति सचिवालयमा बाहिरिने इच्छा व्यक्त गर्दै निवेदन दिने क्रम बढेपछि यस्तो निर्णय भएको बताइएको छ।
पूर्व लडाकुले समायोजनपछि पाउने पद तय नभएको, स्वास्थ्य बिग्रेको र अन्य घरायसी कारण देखाउँदै स्वेच्छिक अवकाशमा जान पाउँ भन्दै निवेदन दिएको सचिवालयले जनाएको छ।
भर्ना र छनोट उत्तीर्ण ७१ अधिकृतसहित एक हजार ४४२ लडाकुलाई यही मङ्सिर १० गतेदेखि नेपाली सेनाले तालिममा पठाएको थियो। रासस

Leave a Reply

Your email address will not be published.