छोरासरह छोरीलाई पनि अंश दिइयो

कालीकोट- महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कालीकोटको रुप्सास्थित एक गाउँमा छोरीलाई छोरा सरह अंश दिइएको छ। अंशबण्डा पाउनेमा रुप्सा गाविस- ३ निवासी अबिसरा सहकारी रहेकी छिन्। एकै आमाबाबुको सन्तान छोरीको पनि बाबुको सम्पत्तिमा बराबर हक लाग्ने भएकाले चार भाइ बहिनीलाई बराबर अंश दिएको बताइएको छ।
स्थानीयवासीको रोहबरमा महिला हिंसाविरुद्धको १६ दिने अभियानको समापनको दिन घरमा भएको सम्पत्ति नगद रु ८४ हजारसहित घरजग्गालगायत जिन्सी सामानमा समेत बराबर गरी चार भागमा बाँडिएको उनका बुबा सर्जन सहकारीले बताएका छन्।
फुकोट- ५ मा कर्मघर भएकी अबिसरा तीन भाइमध्येकी जेठी दिदी भएको कान्छा भाइ डन्डमान बोगटीले बताए। उनका अनुसार अबिसरापछिका भाइ हर्कबहादुर सहकारी जनुयद्धका समयमा सहिद भएका थिए भने तीन भाइ र एक बहिनीलाई सम्पत्तिमा बराबर गरिएको हो।
यसअघि जिल्लामा फाटफुटरुपमा अंशबण्डाको खबर आए पनि अबिसराले भने पूर्णरुपमा माइतीबाट अंश पाएकी हुन्। कालीकोटमा जन्म घरबाट अंश पाउँ भनी ओदानकु- ९ कि दुधकला शाहीले बुबा कर्णबहादुर शाहीविरुद्ध एउटा मात्र मुद्दा दर्ता गरिएको जिल्ला अदालत कालीकोटका नासु विनोद आचार्यले बताए।
सम्बन्धबिच्छेदलगायतका कारणले अंशबण्डाका लागि मुद्दा आउने गरे पनि माइतीघरबाट अंश पाउँ भनी ओदानकुको बाहेक अरु कुनै पनि ठाउँबाट मुद्दा नआएको नासु आचार्यको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.